पाँचथरको फिदिम नगरपालिका वडा नं. ७ रानीटारमा दुई दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । कालिका कृषि सहकारी संस्थाको आयोजनामा संचालित सो शिविरमा फिदिम नगरपालिका वडा नं.–७, का कृषकहरुले पालेका घरपालुवा जनावरहरुको स्वास्थ्य परिक्षण, भाले जातका जनावरहरुको बन्ध्याकरण, कुकुरहरुलाइ रेविज विरुद्धको खोप लगाइएको थियो । घरपालुवा पशुलाई निःशुल्क औषधी वितरण गरिएको थियो ।
फिदिम नगरपालिका वडा नं.–७ रानिटारको आर्थिक सहयोगमा संचालित उक्त शिविरमा सो वडाका २ सय ४ जना कृषकहरुले पालेका गाई, भैसी, सुगुर, भेड़ा, बाख्रा, कुखुरा, गोरु, राँगा, बाछो, बाछी, हाँस, कुकुरलागायतका जनावरहरुका लागि निःशुल्क औषधी वितरण वितरण गरिएको थियो । यसै गरी सो शिविरमा ४६ वटा कुकुरहरुलाई रेविजविरुद्धको खोप लगाउनुका साथै ३८ वटा बाख्राका बोकाहरुको बन्ध्याकरण गरिएको कालिका कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञनाथ बास्कोटाले जानकारी दिए ।
सो शिविर शनिवार कालिका आधारभूत विद्यालय फिदिम–७,नाँलपाको प्राङ्गणमा र आइतबार रानिटार माध्यमिक विद्यालय फिदिम–७, रानिटारको प्राङ्गणमा सम्पन्न सो शिविरमा भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र का प्रमुख डा. मनोजकुरार महतो, फिदिम नगरपालिका पशु शाखाका प्रमुख तिर्थराज मिश्र,फालेलुङ गाउँपालिकाका कार्यलयका नायव पशु प्राविधिक गोविन्द बाँस्कोटा र पशु प्राविधिक युवराज बाँस्कोटाले प्राविधिक सेवा प्रदान गरेका थिए ।
फिदिम नगरपालिका वडा नं.–७ का वडाध्यक्ष रुपेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा वडा सदस्य प्रदिप बाँस्कोटा एवं भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा.मनोजकुमार महतोको विशिष्ट आतिथ्यतामा सो शिविर सम्पन्न भएको थियो ।
सो शिविर समापन समारोहमा प्रमुख अतिथि वडाध्यक्ष तामाङले यस वडाभित्र अव्यवस्थित रुपमा पालिकाएका छाडा कुकुरहरुलाई व्यवस्थित ढंगबाट पाल्न आग्रह गर्दै छाडा कुरुरहरुको नियन्त्रण गर्ने वडाले निर्णय गरीसकेकोले सो अनुसार गर्ने कुकुर पालक मानिसहरुलाई आग्रह गरेका थिए ।