पाँचथर । पाँचथरबाट एक नम्बर प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीले आफूलाई राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले फिदिम २ मा रहेको ज्येष्ठ नागरिक आश्रमका नागरिकलाई खाद्यान्न र लत्ता कपडा उपलब्ध गराएकी छिन् । सांसद श्रेष्ठले आश्रममा रहेका १८ जना ज्येष्ठ नागरिकका लागि ५ सय किलो चामल, नुनतेल, मसला र लत्ताकपडा उपलब्ध गराएकी हुन् ।
शनिवार फिदिम २ स्थित आश्रममा पुगेकी श्रेष्ठले त्यहाँ आश्रित ज्येष्ठ नागरिकसँगै आश्रम सञ्चालक राधिका थापालाई सामग्री हस्तान्तरण गरेकी थिइन् । सांसद भएपछि राज्यबाट प्राप्त पहिलो महिनाको सुविधा परोपकारी काममा लगानी गर्ने मनसायले आश्रमलाई सहयोग गरेको बताइन् ।
सभाषद श्रेष्ठले सामाजिक संजालमा लेखेकी छन्, ‘मैले राज्यबाट पाएको पहिलो सेवा सुविधा बृदआश्रमलाई म सांसद भएर राज्यबाट मैले सांसदको रूपमा पाएको पहिलो महिनाको सबै सेवा सुविधा आज जेष्ठ नागरिक आश्रम फिदिमका बृद बुबा–आमा हरुलाई न्यानो कपडाहरू र खाद्यान्न समाग्री वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे र फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले लगायतको उपस्थिति थियो । सांसद श्रेष्ठ मंसिर ४ गते सम्पन्न प्रदेस सभा निर्वाचनबाट समानुपातिक प्रणालीमार्फत १ नम्बर प्रदेश सभा सदस्यमा चुनिएकी थिइन् ।