पाँचथर । पाँचथर सदरमुकाम फिदिमस्थित ‘फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समिति’को १५ वर्षमा गर्न लागिएको चौथो अधिवेशन स्थगित भएको छ । बहुमत संख्या नपुगेको भन्दै नेतृत्व चयन नगरी अधिवेशन स्थगित भएको हो ।
हरेक पाँच बर्षमा गर्नुपर्ने अधिबेशन १५ बर्षपछि गर्न लागिएको थियो । १५ दिनका लागि अधिवेशन स्थगित गरिएको बताइएको छ ।
‘कम्तिमा ५१ प्रतिशत उभोक्ताहरु अधिवेशनमा भाग लिनुपर्ने विधानमा उल्लेख छ,’ समितिका अध्यक्ष गजाधर भट्टराईले भने ‘गणपुरक संख्या नपुगेपछि अधिबेशन स्थगित गर्न बाध्य भयौँ ।’
उद्घाटनपछि अधिवेशन स्थगित गरिएको हो ।
जम्मा २ हजार ५ सय उपभोक्तामध्ये ३ सय १५ जना उपभोक्ताहरु मात्र उद्घाटन सत्रमा सहभागि भएका थिए । बहुमत नपुगेको भन्दै बन्दसत्र सुरु नगरी अधिवेशन स्थगित गरिएको हो ।
अधिवेशनको अर्को मिति माघ २३ गते तय गरिएको छ । समितिको विधानमा हरेक पाँच बर्षमा दुईपटक साधारण सभा र एकपटक अधिवेशन गर्नुपर्ने उल्लेख छ । तर, १५ बर्षसम्म साधारण सभा र अधिवेशन नगरि एउटै समतिले काम गरिरहेको छ ।
२०६४ सालमा गजाधर गजाधर भट्टराईको नेतृत्वमा नयाँ समिति बिस्तार गरिएको थियो । ‘तत्कालिन सात दलीय संयन्त्रले मलाई सहमतिको अधारमा नेतृत्व प्रदान गरेका हुन्,’ भट्टराईले भने ‘अहिलेसम्म सोही समिति क्रियाशिल छ ।’ भट्टराई फिदिम नगरपालिका १ का वडाध्यक्ष समेत हुन् । अधिवेशन १ नम्बर प्रदेशका सांसद कमल जबेगुले उद्घाटन गरेका थिए ।