काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर हिँडेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी गए राति करिब साढे २ बजे दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाही रहेका छन् ।
दुर्घटनामा घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो ।