काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमनत्री केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनको पुस्तक आउने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा साहित्यकार शशी लुबुम्बुद्धारा सम्पादित ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनहरु’ आउने भएको हो ।
करिब ७ वर्षअघिदेखि ओलीका प्राज्ञिक सम्बोधनहरूलाई सङ्कलन गर्दै आएको पुस्तकको सम्पादकीयमा उल्लेख गरेका छन् । ‘प्रायः मान्छेले उहाँलाई एक नेता मात्रै देखेको पाइन्छ तर उहाँभित्र रहेका अजस्र ज्ञान–भण्डारको भने भेउसम्म पनि पाउन सकेको पाइँदैन । मैले जहिलेदेखि उल्लिखित विषयसम्बन्धी उहाँका विचार–सम्बोधनहरूलाई गम्भीरतापूर्वक ध्यान दिएर सुन्न थालेँ, अध्ययन गर्न थालेँ तब मैले उहाँलाई एक कविका रूपमा, एक कलाकारका रूपमा, एक विचारकका रूपमा, एक चिन्तक तथा एक दार्शनिक व्यक्तित्वका रूपमा पाउँन थालेँ । यसरी आफूलाई विशेष महत्वपूर्ण लागेका उहाँका प्राज्ञिक सम्बोधनहरूलाई सङ्कलन गर्दै जान थालेँ । मैले यसरी करिब सात वर्षअघिदेखि सुरु गरेको सोही कार्यको प्रतिफल हो, यस पुस्तक ।’, पुस्तकको सम्पादकीयमा लुमुम्बु लेख्छन् ।
सम्पादक लुमुम्बु ओली जस्ता व्यक्तित्व दुनियाँमा विरलै पाइने बताउछन् । ‘सबै विषयमा उत्तिकै गहन समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रभावशाली राजनेता केपी शर्मा ओली राजनीतिका अतिरिक्त भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, सम्पदा, इतिहास, धर्म, दर्शन, विज्ञानलगायतका प्रायः सबै विषयमा उत्तिकै गहन ज्ञान भएका एक विद्वान् व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तित्व दुनियाँमा विरलै पाइन्छन् ।’, लुमुम्बु बताउछन् ।
केपी शर्मा ओली ज्ञानको समुद्र रहेको सम्पादक लुमुम्बुको ठम्याइ छ । केपी शर्मा ओली महत्वपुर्ण प्राज्ञिक सम्बोधनहरूको सङ्ग्रह ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ राष्ट्रकै लागि महत्वपूर्ण र प्राज्ञिक उपलब्धि हुने लुमुम्बु बताउछन् । यस प्राज्ञिक सम्बोधनबाट साहित्य, कला, सभ्यता एवम् संस्कृतिका साथै नेपालको गौरवशाली परम्परालाई बुझ्न चाहने, रुचि राख्ने र खोज–अनुसन्धान गर्न चाहने सम्बन्धित सबैले विविध प्राज्ञिक विषयमा नयाँ ढङ्गबाट विमर्श गर्ने सन्दर्भमा समेत अधिकतम् लाभ हासिल गर्न सक्ने सम्पादकको विश्वास रहेको छ ।
हिमवत्खण्डको गौरव: सुन्दर नेपाल, गौरवपूर्ण सम्मिलन: हिमवत्खण्ड कला–साहित्य सम्मिलन, पूरा हुन्छ चन्द्रागिरिबाट देखेको सपना, प्रज्ञाको योगदान असाधरण, नेपाली जाति र राष्ट्रिय संस्कृति, महाकवि देवकोटाको कविकुञ्ज अब सङ्ग्रहालय लगायत ३७ वटा सम्बोधन संग्रहित गरिएको यस पुस्तकलाई चुनावपछि भव्य समारोहमाका साथ विमोचन गरिने सम्पादक लुमुम्बुले जानकारी दिए ।