काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रम आयोजना गरेको छ ।
सोमवार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन युगकवि सिद्धिचरण श्रेष्ठलगायतका विशिष्ट स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने– “२००७ सालपछि नेपाली समाजको रूपान्तरण प्रक्रियालाई राम्ररी बुझेर सिर्जना लेख्ने कार्यमा सिद्धिचरणको महत्त्वपूर्ण योगदान रहेको छ । प्रगतिशील रूपान्तरणका लागि समानताका पक्षमा पनि उत्तिकै सशक्तरूपमा युगकवि श्रेष्ठले कलम चलाउनुभएको छ ।”
यस्तै, प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले युगकवि सिद्धिचरण बुहभाषिक स्रष्टासमेत भएको नयाँ जानकारी नेपाली साहित्यले प्राप्त गरेको चर्चा गर्दै यस विषयमा थप खोज र अध्ययन हुनुपर्ने बताए ।
उपकुलपति डा.जगमान गुरुङले युगकवि सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुङ्गा’ रचनाको चर्चा गर्दै स्रष्टा र सजर्कले सयौँ रचना सिर्जना गरे पनि एउटै सिर्जनाले स्थापित र लोकप्रिय बनाउने बताए ।
यस्तै, सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले सचेततापूर्वक दायित्वबोध गरेर कविता लेख्ने कविका रूपमा युगकवि श्रेष्ठको चर्चा गरे । उनले नेपाली समाज र राजनीतिलाई बुझेर समाजको रूपान्तरण चाहने स्रष्टा भएकाले नै सिद्धिचरण श्रेष्ठ युगकविका रूपमा नेपाली साहित्यमा स्थापित भएको बताए । उनले भने— “सिद्धिचरण राष्ट्रवादी, प्रकृतिप्रेमी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको सम्मानमा प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा भवनको एउटा हलको नाम सिद्धिचरण सभाकक्ष राखेको छ । उहाँका रचनाका सङ्कलन, प्रकाशनका साथै उहाँका कृतिका बारेमा अध्ययन, अनुसन्धान, अनुवाद र विमर्शका काम प्रज्ञा–प्रतिष्ठानबाट भएका छन् ।”
युगकविका छोरा रविचरण श्रेष्ठले युगकवि बुवासँगका सम्झनाहरू सुनाएका थिए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानले युगकवि श्रेष्ठको योगदानको उच्च मूल्याङ्कन गरी कार्यक्रम आयोजना गर्नुका साथै कृतिहरूको प्रकाशन गर्दै आएकामा कृतज्ञता प्रकट गरेका थिए ।
कार्यक्रममा डा.फडिन्द्रराज निरौलाले ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए । गोष्ठीपत्र प्रस्तुत गर्दै उनले स्वच्छन्दतावादी काव्यधाराको सूत्रपात र विकासमा सिद्धिचरणको योगदान महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा डा.फडिन्द्रराज निरौलाद्वारा सङ्कलित तथा सम्पादित एवम् प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका बालकविता’ नामक पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा रुपक चौधरीले युगकवि श्रेष्ठको कविता सङ्गीतबद्ध गरी गाएका थिए भने लक्ष्मी गौतमले युगकविको नेपाली भाषाको कविता तथा भूषणप्रसाद श्रेष्ठ, शरद कसाः र रामेश्वर मिश्रण श्रेष्ठले नेपालभाषाका कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गरेका थिए ।