काठमाडौं । वर्तमान नेपाली समाजमा पुराणको सान्दर्भिकता सम्बन्धी विमर्श सम्पन्न भएको छ । योगेश्वर स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त विमर्श कार्यक्रममा महापुराणका १८ पुराण सारांशका रूपमा भावअनुवाद गरेका डा. बद्री पोखरेलले वर्तमान समयमा पुराणको सान्दर्भिकतासम्बन्धी प्रकाश पारेका थिए । डा. पोखरेलले नेपालीहरुले आफ्ना संस्कृतिहरुलाई छोडेर पश्चिमा संस्कृतिलाई अँगाल्दै जाने क्रम बढ्दै गएको बताउँदै पुराणभित्र भएका विषयलाई गहिरो रुपमा अध्ययन गरी व्यवहारमा लागु गर्नु आवश्यक भएको बताए ।
कसैको मन दुख्ने काम नगर्नु, कसैको सम्पत्ति सितैमा नलिनु, सबैको भलो हुने काम गर्नु लगायतका कुराहरु पुराणको मूल मर्म भएपनि अहिले हाम्रो समाज त्यसको ठिक विपरीत मै खाऊँ, मै लाऊँमै सीमित रहेको भन्दै उनले यस्तो सोचलाई पुराणको आर्दशले प्रतिस्थापन गर्नुपर्ने बताए । गहिरो ज्ञान, आफ्नो उद्धार र समाजको हितका लागि पुराण अतिआवश्यक विषय भएको उनको भनाइ छ । डा. पोखरेलले अथाह ज्ञान भएको पुराणले हरेक क्षेत्रलाई समेटेको बताएका छन् । धर्म, संस्कृति, साहित्य, गणित, विज्ञान, ज्योतिष, स्वास्थ्यसहित सबै विषयलाई हजारौं वर्षअघि पुराणमा उल्लेख गरिएको उनले स्पष्ट पारे ।
डा. पोखरेलका अनुसार भाषिक विन्यासलाई आधार मान्दा पुराणले समाजलाई मित्रसम्मत मार्गदर्शन गर्ने बताए । “गुरुसम्मत वाक्य आदेशात्मक हो, तर मित्रसम्मतले प्रेमसम्मत रुपले नराम्रा कुरालाई हटाएर राम्रा कुरा प्रतिस्थापन गर्न सिकाउँछ भने कान्तासम्मत वाक्यले कान्तालाई जस्तै ललाइफकाई आफ्नो कुरा भनिरहेको हुन्छ ।” उनले भने । “पुराणले सधैं मित्रसम्मत वाक्य बोलेर मनलाई राम्रो बाटोमा ल्याउने काम मात्रै गर्छ । यसर्थ पुराण पूर्वीय दर्शनको एउटा महान् वाङ्मय हो ।”
उनले ३–४ हजार वर्ष पहिले लेखिएका पुराणका विषयलाई गुगलमा समावेश नगरेको तर त्यही पुराणहरुमा बताइसकेका विषयहरुमा आधारित रहेर २–४ सय वर्षअघि विद्वानहरुले लेखेका विषयलाई समावेश गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले संस्कृत संसारकै धनी भाषा र विद्या भएको बताए । “संस्कृत १ खर्ब २ अर्ब ८७ करोड शब्द भण्डार भएको र सबैभन्दा बढी ग्रन्थ लेखिएको भाषा हो ।” उनले भने– “संस्कृतभित्र भएका वैज्ञानिक भाषालाई बुझेर नासाले संस्कृतलाई कम्प्युटरको भाषा बनाउँदै छ । अन्य ग्रहमा यान पठाउँदा र फर्केर आउँदा ठ्याक्क भन्दा बुझ्ने भाषा संस्कृत हो । त्यसैले यसमा अनुसन्धान भइरहेको छ ।”
कार्यक्रममा कवि, निबन्धकार मोमिला जोशीले संस्कृति आत्माको विस्तार भएको बताइन् । उनले वर्तमान समयमा संस्कृतिको व्याख्या सही ढङ्गले भइनरहेको भन्दै सही व्याख्याका लागि वर्तमान समयमा पुराणका विषयमा जानकार हुन आवश्यक भएको बताइन् । उनले भूल हुनु प्रकृति, मानिदिनु संस्कृति र भुल सुधार गर्नु प्रगति भएको भन्दै यी सबै कुरालाई एकै ठाउँमा राखेर यसलाई वर्तमानमा पुराणको सान्दर्भिकतासहित व्याख्या गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिन् ।
“हामी मान्छे हिँडिरहेका त छौँ तर कतै धडकन त छुटाएका छैनौं । यस्तो लाग्छ, हामी देखिएका सत्यलाई मात्रै सत्य ठानिरहेका छौँ । आखाँ चिम्लेर अनुभूत गरिने सत्य खै त ? पूर्वीय दर्शनको अत्यन्त गहन सत्यलाई मनन नगरी हामीले कति कुराहरु नबुझेर नै कतै हाम्रो जिन्दगी सकिरहेका त छैनौँ, चुरोट सल्काएझैं १ यिनै प्रश्न गर्दै उनले यही विषयलाई उजागर गर्न पुराणभित्रका ज्ञानलाई बुझ्नु र त्यसको बाटोमा हिँड्नु आवश्यक भएको बताइन् । जोशीले समाजसेवी, शिक्षासेवी र मानवताका लागि लड्ने योद्धा स्वर्र्गी योगेश्वर कार्कीका नाममा स्थापित संस्थाद्वारा यस्तो कार्यक्रम आयोजना गरिँदा कार्यक्रम अझ सान्दर्भिक भएको विश्वास व्यक्त गरिन् । कार्यक्रममा धार्मिक व्यक्तित्व, विद्वान्–विदूषी साहित्यकार र समाजसेवीको उपस्थिति रहेको थियो ।