काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठान विश्वसनीय समकक्षी संस्था भएको भन्दै उनले यी दुई संस्थाबीच सन् २०१३ मा समझदारी पत्रमा हस्ताक्षर भएयता साहित्यिक भ्रमण आदानप्रदान, अन्तक्र्रिया एवम् अनुवादका कामले गति लिएको भन्दै खुसी व्यक्त गरे । सन् २०१७ मा चीनमा सम्पन्न प्रथम चीन–दक्षिण एसिया साहित्य सम्मेलनको दोस्रो संस्करण नेपाल प्रज्ञा–प्रतिष्ठानले सन् २०१९ मा गर्न पाएको स्मरण गर्दै उनले खुसी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ लेखक सङ्घका अध्यक्ष थाइ निङले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीचको संयुक्त पहलबाट दुई देशबीच साहित्यिक आदानप्रदानमा टेवा पुगेको बताए । कोरोना महामारीका कारण केही समय स्थगित जस्तै रहेको द्विपक्षीय साहित्यिक आदानप्रदानले अब गति लिने उनकोे विश्वास थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्राडा. हेमनाथ पौडेल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका तर्पmबाट प्रा.डा. अभि सुवेदी, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. कृष्णचन्द्र शर्मा र उपप्राध्यापक महेश पौड्यालले गोष्ठीपत्र प्रस्तुत गरेका थिए । चीनका तर्पmबाट निङ खन, चाङ छिङह्वा, लिउ चियान, पेई था, वाङ लिउछीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा एक सयभन्दा बढी नेपाली कविता समेटिएको कविता सङ्ग्रहको चिनियाँ संस्करण सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानले अङ्ग्रेजी भाषामा अनुवाद गरेको ‘दि भ्वाइस अफ नेपाल’ नामक उक्त कृतिलाई चिनियाँ लेखक सङ्घले चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशन गरेको हो । पुस्तक सार्वजनिकपछि बोल्दै कुलपतिज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद गरेको ‘समकालीन चिनियाँ कविताहरू’ शीर्षकको ग्रन्थ प्रकाशनको अन्तिम चरणमा रहेको चिनियाँ पक्षलाई जानकारी दिए ।
जम्मा १३ चिनियाँ कविका ६५ ओटा रचना समेटिएको उक्त कृतिका अनुवादक डा. प्रदीप केसी पनि उक्त कार्यक्रममा सहभागी थिए ।
