काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले दर्शनशास्त्रका ६ कृति सार्वजनिक गरेको छ । उक्त पुस्तक प्रतिष्ठानले आयोजना गरेको ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक गोष्ठीमा कुलपति गङ्गाप्रसाद उप्रेती र वीरेन्द्रप्रसाद मिश्रद्वारा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका कृतिहरूमा ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘प्रशस्तपादभाष्य’, ‘वैशेषिक सूत्रको विवेचनात्मक व्याख्या’, ‘सर्वार्थ योगवाणी’ र ‘तन्त्रसर्वस्व’ छन् । यी पुस्तक फरक-फरक अध्यता तथा दर्शनशास्त्रीयद्वारा लेखिएका हुन् । विष्णुप्रसाद शर्माले ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’ अनुसन्धान गरेका हुन् । यसैगरी नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक विशाल सिटौलाको ‘संसार एक पाठशाला’ कृतिसमेत सार्वजनिक गरिएको थियो ।
प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले अहिलेसम्म डेढ दर्जन दर्शनशास्त्रका कृति प्रकाशित रहेको बताए । ‘प्रतिष्ठानको ६५औं वार्षिकोत्सव मनाउने तयारीमा छौं,’ दर्शनशास्त्र विभाग प्रमुखसमेत रहेका उपाध्यायले भने, ‘पहिला भारत वर्षीय भनिन्थ्यो । अहिले भारतवर्ष विभिन्न देशमा खण्डित छ । तसर्थ हाम्रा ऋषि महर्षिहरुले प्रतिपादन गरेका जीवन दर्शन प्रकाशन गर्ने तयारीमा छौं ।’ पूर्वीय दर्शनलाई अनुसन्धान, प्रकाशनलाई प्राथमिकता दिएको उनले जनाए ।
प्राध्यापक विशाल सिटौला प्रमुख प्रवचक रहेको समारोहमा जीवन दर्शनबारे प्राध्यापक वीरेन्द्रप्रसाद मिश्र, प्राध्यापक विद्यानाथ उपाध्याय, चिन्तामणि योगी, स्वामी आनन्द अर्हत्, कुलपति उप्रेती, उपकुलपति जगमान गुरुलगायतले चर्चा गरेका थिए ।