काठमाडौं । भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतको माघको आक्रमणबाट मृत्यु भएको थियो । बिहान ७ बजेतिर जंगल गएकी उनलाई साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो ।
घटनापछि निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए । उनको शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका छन् । उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिने बताएका छन् ।
आज मान्छे खाएको बाघलाई यसै छाडे भोली सबैलाई खाने भन्दै स्थानीय बाघलाई नियन्त्रणमा नलिँदासम्म शव नबुझ्ने अडान लिएका हुन् ।
चितवनमा बाघको आक्रमणबाट पछिल्लो तीन महिनामा १० जनाको मृत्यु भएको छ । केही दिन अघिमात्रै बाघको आक्रमणबाट भरतपुर–२३ र राप्ती नगरपालिकामा १/१ जना घाइते भएका थिए ।