उदयपुर– उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ।
कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ। शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए।
घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइतेको उद्धार गरेको थियो। घाइतेको कटारी अस्पतालमा उपचार भएइरहेको प्रहरी कार्यालयले जनाएको छ।