April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

2.4K

ओखलढुङ्गा – ओखलढुङ्गामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी बनेको हो । स्वास्थ्य बीमा कार्यक्रममा समेटिएपछि विगतमा जस्तो सामान्य स्वास्थ्य उपचार गराउँदा पनि मोटो रकम तिर्नुपर्ने बाध्यता टरेको मोलुङ गाउँपालिका–२ का नवराज दाहालले बताउनुभयो ।

स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन बढी सहयोग मिलेको उहाँको भनाइ छ । ‘‘पहिलापहिला गोजीभरि पैसा बोकेर मात्रै अस्पताल जानुपर्ने अवस्था थियो । आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पिर हुन्थ्यो । अहिले बीमा कार्ड बोकेर गएपछि ढुक्कले उपचार सकेर फर्कने अवस्था छ’’ उहाँले भन्नुभयो, “शुरुशुरुमा त यसको उपयोगिताबारे अन्योल थियो । अहिले अस्पतालमा पुगेर नाम टिपाउना साथ बीमा गरेको छैन ? छ भने कार्ड दिनुस् भनेर त्यो प्रक्रियाबाट उपचार गराइदिने हुँदा एकदमै सजिलो र सरकारको ठूलो सहयोग पाएको महसुस हुन्छ ।” आफूले निरन्तर बीमा दाबी गरेर सामान्य उपचार सेवा लिन थालेको दाहालको भनाइ छ । जिल्लाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् ।

“सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होला जस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो”, खिजीदेम्बाका सुमन सुनुवारले भन्नुभयो, “जम्मा तीन हजार ५०० तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै पो सहयोग हुँदो रहेछ ।” उपचार सेवामा छुट पाएपछि पहिलोपटक सरकारको साथ मिलेको अनुभूति भएको उहाँको भनाइ छ । ओखलढुङ्गाका १८ हजार नागरिक बीमाको पहुँचमा पुगेका छन् । ओखलढुङ्गाको एक लाख ४७ हजार जनङ्ख्यामध्ये बीमाको पहुँचमा आठ स्थानीय तहका १८ हजार १७४ जना नागरिक स्वास्थ्य बीमामा समेटिएका हुन् ।

Advertisement

स्वास्थ्य बीमा कार्यक्रम शुरु भएपछि उत्साहजनक रूपमा नागरिक बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्डको जिल्लास्थित कार्यालय प्रमुख सुदीप कार्कीले बताउनुभयो । जिल्लामा कार्यालय स्थापनाको भएको दुई वर्ष नपुग्दै बीमाको आवश्यकता र महत्व बुझेर बीमा गराउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । “जिल्लाका सबै स्थानीय तहबाट बीमामा उत्साहजनक सहभागिता छ । छोटो समयमै हामीले १८ हजारभन्दा बढीलाई बीमा कार्यक्रममा समेटिसकेका छौँ” कार्यालय प्रमुख कार्कीले भन्नुभयो, “बीमाको उपयोगिता बढेसँगै अझै यो सङ्ख्या बढ्नेवाला छ ।

पहिला हामीले बीमाका बारेमा बुझाउन घरघर गएर परामर्श दिनुपथ्र्यो अहिले उहाँहरु आफैँले बुझेर बीमामा सहभागिता जनाउन आउनुहुन्छ । हामी हाम्रो संयन्त्रमार्फत पनि बीमालाई थप प्रभावकारी बनाउन जुटिरहेका छौँ ।” उहाँका अनुसार स्थानीय तह, जनप्रतिनिधि र अगुवाको सहकार्यमा जिल्लाका सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने योजना छ । बीमाका लागि सामान्यतः एक आर्थिक वर्षमा रु तीन हजार ५०० तिर्नुपर्छ । यो रकमले पाँच जना परिवारसम्मको बीमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क लाग्छ ।

स्वास्थ्य बीमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि बीमा हुने गरेको छ । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भई सो सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको भने बीमा निःशुल्क हुने व्यवस्था छ ।