काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय आविष्कार केन्द्रका माग मुलुकको वैज्ञानिक विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् । आइतबार माईतीघरस्थित धर्नास्थलमा पुगेर महावीर पुनलाई भेटघाट गरी पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्दै पार्टीको संस्थागत समर्थन गरेका हुन् ।
नेता खनालले सरकारले उक्त आन्दोलनमार्फत भएका मागलाई अविलम्ब पूरा गर्नुपर्ने बताए । नेता खनालले बजेट निर्माणका क्रममा रहेकाले केन्द्रले राखेका माग पूरा गर्न आवश्यक कानुन संशोधन गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धर्नास्थलमा पार्टीक उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउदै आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए ।
उनले नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिए ।
आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा धन्यवाद दिदै अनुसन्धान, नबप्रवर्तन र आविष्कारमा राजनीतिक दलकाबीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताए ।
कार्यक्रममा पार्टीका नेताहरु साध्यबहादुर भण्डारी आलोक रायमाझी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले समेत ऐक्यबध्दता जाहेर गरेका थिए ।
आविस्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्नेलगायतका ४ बुँदे माग राख्दै महावीर पुनले शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरेका हुन् ।
आन्दोलनको तेस्रो दिन आइतबार सरकार र महावीर पुनबीच औपचारिक रुपमा वार्ता भएको थियो । आइतबार साँझ ५ः३० बजे देखी ९ बजे रातीसम्म सिंदरबारमा भएको वार्ताबाट सबै कुरा मिलिनसकेको र आज पनि वार्ता हुने पुनले जानकारी दिएका छन् ।
‘भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो । सबै कुरा मिलेको छैन । आन्दोलन जारी हुनेछ ।’, पुनले सामाजिक संजालमा लेखेका छन् ।