काठमाडौं । सरकार र महावीर पुनबीच सातबुँदे सहमति भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
पुन र सरकारबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने र उक्त कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने सहमति भएको छ ।
यस्तै, सहमतिअनुसार आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने छ ।
अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानूनी एवं संस्थागत प्रबन्ध गर्ने र आविष्कारबाट उत्पादित वस्तु तथा सेवाहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, दर्ता, संचालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धित कानूनमा सुधार गरी सहजीकरण गर्ने छ ।
सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रका अध्यक्ष पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा थालेको धर्ना पनि स्थगित भएको छ ।