काठमाडौं। ‘जेनजी’ले सरकारबिरुद्ध गरेको आन्दोलन अनियन्त्रित भएपछि सुरक्षाकर्मीले गोली चलाएका छन्। संसद् भवनको मुख्य द्वारअघि भएको गोली प्रहारमा प्रदर्शनकारीहरु घाइते भएका छन्।
झडपमा नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना र कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठको हातमा समेत गोली लागेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
यस्तै झडपमा केही सुरक्षाकर्मीहरू समेत घाइते भएका छन्। घाइतेहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् । अहिले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ ।
सोमबार माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी पुस्ता प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। प्रहरीको ब्यारिकेड तोड्दै संसद् भवनभुत्रैसम्म पुगेका प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप भएपछि भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रहार गरेको बताइएको छ ।
नेपाल सरकारले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा माइतीघरमा भेला भएका जेन–जीका प्रदर्शनकारीहरू नाराबाजी गर्दै बानेश्वरतर्फ अघि बढेका थिए।
उनीहरुले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’, ‘जनाताको पैसा खानेलाई बिदाई’, ‘डोन्ट फिड द ग्रीड’, ‘खानलाई नुन छैन, तिमीलाई ओड्ने सुन चाहिने?’, ‘आवर फ्युचर इज नट् फर् सेल’, जस्ता प्लेकार्ड बोकेका छन् ।
करिब १२ हजारको संख्यामा युवाहरू भेला भएका छन् ।




