काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति कास्की जिल्ला अदालतमा पेस गरिँदै छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
रास्वपाले पोखरालक्षित प्रदर्शन
सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।
बुटवलमा उपस्थित गराइने
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई रुपन्देही उपस्थित गराउन पत्राचार गरिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।
ओखलढुङ्गाको सुनकोसी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, त्यसबेला गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले लामिछाने विरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।