May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

‘सत्यधर्म मुचुल्का’ समाज सुधारको नमुना

लेखनाथ सिकारु
२०८१ बैशाख २४

885

काठमाण्डौ । आज ९४ औं समाज सुधार दिवस विविध कार्यक्रमका साथ मनाईदै छ  । विभिन्न कुरीति, अन्धविश्वास र बेथितिमा रहेको किरात समुदायलाई ‘सत्य धर्म मुचुल्का’ मार्फत महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गरेको समाज सुधार अभियानको सम्झनामा बैशाख २४ गते समाज सुधार दिवस मनाइदै आएको छ ।

नेपालका १६औं राष्ट्रिय विभूति  तथा किराँत धर्मगुरु फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको फिदिम स्थित सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीविको भेला गराएर समाज सुधारकालागि जारी गरेको १० बुँदा सत्यधर्म मुचुल्काको स्मरणमा यो दिवस मनाइएको हो ।

विक्रम सम्मत १९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइ दिए पछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ । १६ वर्षमा बर्मामा बृटिस सैनिकको रुपमा काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखे पछि उनी मानव मानव बिचको लडाइ मारामार वाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किएका थिए ।

Advertisement

पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नु पर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए । उतिबेला किराँत समूदायमा ब्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) डाँके । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे । उनले  लिम्बूहरूको जन्म, विवाह मृत्यु संस्कारलाई समायानुकुल परिवर्तनको लागि कार्य गरे ।

८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने, झुटो बोल्नु नहुने, नारीहरू सृष्टि कर्ता भएकोले उनीहरुलाई समाजमा उच्च सम्मान दिनु पर्ने, आफ्ना कुल देवतालाई चोखो नितो भई बिहानबेलुका पूजा,आराधना गर्नुपर्ने, मासुमांस तथा मदिरा पान गर्नु नहुने साथै देवी देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरू अभियानकै रुपमा सञ्चालन गरेका थिए ।

तत्कालीन अवस्थामा धर्म, संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगति र कुरीतिहरूलाई संसोधन गरी राम्रा रीतिरिवाजको संरक्षण र खराब कुराहरुलाई सच्याउनु पर्ने भन्दै विक्रम सम्वत् १९८८ वैशाख २४ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० वुंदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागु गरेका थिए ।

ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम शृङ्खलालाई किराँतीहरुको पवित्र धार्मिक स्थल तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए । सोही अनुरूप अहिले समेत किराँतहरूले कुम्भकर्णलाई पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन् । उनले त्यस बेलामासमेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ । किराँतीहरुको मौलिक धर्म र संस्कृतिको प्रचारप्रसार गर्दै भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहीको आरोपसमेत खेप्नु परेको थियो ।

लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २ ) हाङयक भन्ने स्थानमा मृत्यु भयो ।

उनको मृत्यु पछि किराँत धर्म, संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघसंस्थाले कार्तिक २५ गते जन्म जयन्ती र बैशाख २४ गते समाज सुधार दिवसको रुपमा मनाउँदै आएका छन् ।

लिङदेनको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेर उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ । सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ भने नेपाल सरकारको कक्षागत पाठ्यक्रममा उनको जीवनी समेत समावेश गरेको छ ।

यस्तै उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ भने दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । यसका अलवा पूर्वी नेपालमा फाल्गुन्दको नाममा थुप्रै सामाजिक संघसंस्थाहरु स्थापना भई कार्यरत रहेका छन् ।

समाजको आर्थिका सामाजिक सांस्कृतिक सुधारमा लागेका फाल्गुनन्दले ‘पापले सकिन्छ धर्मले बढिन्छ’, ‘बोलेन भने झगडा हुँदैन’, ‘हजारौ तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ’, ‘खराब धेरै छोरा भएर के हुन्छ, एउटा असल सन्तानले घर सुहाउँछ’ जस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समय सापेक्ष छन् ।

‘आफ्नो मौलिकतालाई विर्सेर पथ भ्रष्ट हुनु हुन्न धर्म संस्कार र संस्कृतिका नाममा तडकभडक गर्नु हुन्न ,आफ्नो गच्छे अनुसार धर्म संस्कार र संस्कृति मनाउनु पर्छ , मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न , अरुलाइ खुशी तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वली चढाउनु हुन्न, भगवानको पुुजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नु पर्छ’ जस्ता सामाजीक चेतना फैलाएर समाज सुधारमा लागेका फाल्गुनन्दको समाज सुधारको नीति विश्व सामु अनुकरणीय छ । राष्ट्रिय विभूति किराँत धर्मका पथप्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र  शान्तिका पक्षधर साधक तथा दार्शनिक फाल्गुनन्दको कर्मभूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् ।

नेपाल सरकारले राजा जनक , सीता , गौतम वुध्द , अंशु वर्मा , राम शाह , पृथ्वी नारायण शाह , भीमसेन थापा , अमरसिं थापा , वलभद्र कुंवर , भक्ति थापा , त्रिभुवन ,कलाकार अरनिको , युवाकवि मोतिराम भट्ट , आदिकवि भानुभक्त आचार्य , समाज सुधारक शंखधर साख्वा ,महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६ औ राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ ।

फाल्गुनन्दका प्रमुख कार्यहरू
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन् । उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सवै भन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिक,सामाजिक अगुवाहरुलाई वि.सं.१९८८ साल बैशाक २४ गते पाँचथरको फिदिमा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।

सत्यधर्म मुचुल्कामा छोरी चेलीको विबाह गर्दा सोत–रीत (पैसा) लिनु नहुने, भगवानको पूजागर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवनकमगर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक,साँस्कृतिकपक्षहरु समेटिएका छन् ।

मुचुल्का र समाजसुधारसत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गतेलाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ । सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ । यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोत, रीत लिने चलन अन्त्य हुँदै गएको पाइन्छ ।

लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा व्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ । मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ । फाल्गुनन्दको अगुवाईमा जारी भएको १० वुँदे सत्य धर्म मुचुुल्कामा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घरपरिवार बिगार्नु नहुने, किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनु पर्ने,मासु र मदिरा खान नहुने, छोरीलाई छोरासरह समान शिक्षा र अधिकार दिनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गर्नु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला खोल्ने जस्ता विषय उल्लेख छन । सत्य धर्म मुचुल्का लागु भएपछि किरात समुदायको जीवन स्तर उकास्न योगदान पुगेको विश्वास गरीन्छ ।
फाल्गुनन्द लिङदेनले जारी गरेका १० बुँदाले किराँती समूदायमा रहेका कुरितिहरूकाे अन्त्य गर्न कोशेढुंगो सावित भएको  उहाँका अनुयायीहरू बताँउछन ।