काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएको भन्दै उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सोमबार अदालतले चार दिन म्याद थपको अनुमति दिँदै महरालाई बिरामी भएको हुँदा अस्पतालमा लैजान दुर्गाप्रसाद खनालको एकल इजलासको आदेश आदेशपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको गरिएको छ ।
आदेशमा भनिएको छ, ‘निज पक्राउ परेका व्यक्ति स्वयंमले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ ।’
सोमबार बिहान पक्राउ परेका महरामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ ।
महरा इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।
गत विहीबार जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो ।