May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

‘युप्पारुङ’ बारे उपेन्द्र सुब्बाले दिएको अभिव्यक्तिले निम्त्याएको बहस

दिलिप बान्तावा
२०८० फाल्गुन २२

4.1K

यतिखेर लिम्बू समुदायमा ‘युप्पारुङ’ले एक खाले बहस निम्त्याएको छ । कारण हो, कवि उपेन्द्र सुब्बाले ‘द पोईट आईडल सिजन २’ मा दिएको अभिव्यक्ति । ‘फिजिकल अडिशन’ का लागि कालेबुङ्बाट आएका कवि विशाल नाल्बोको कवितामा प्रयुक्त ‘युप्पारुङ’ शब्दलाई सबैले बुझ्ने गरि केलाईदिने क्रममा सुब्बाले दिएको अभिव्यक्ति गलत भएको भन्दै त्यतिबेलैबाट लिम्बू समुदायभित्र यसको छलफल सृजना भएको थियो ।

युप्पारुङ् खास के हो त ? यसका बारे निचोड आउला नै बिस्तारै । यहाँ सन्दर्भ उठाउन खोजिएको चाहिँ यस्ता थुपै हाम्रा संस्कृतिहरु कतै छोपिएका छन्, कतै मेटिएका छन् । कहिले सत्ता र माथिल्लो वर्गले बलजफ्ती मेटाउन खोजेको छ भने कहिले सम्बन्धित समुदायकै निष्क्रियताले छोप्नु खोजिरहेको छ । यतिखेरको मुल काम भनेको तिनै छोपिएर, मेटिएर बाँकी रहेका अवशेषहरुबाट हामीले हिँडीआएको गोरेटो पहिल्याउनु छ । त्यो क्रममा कहिलेकाहीँ अलिअलि हो कि, हो कि जस्तो मात्रै लाग्ने धर्काहरुका आधारमा हामीले त्यो गोहो भेट्नुपर्दछ । यतिखेर युप्पारुङ्ले ल्याएको तरङ्गलाई त्यसरी नै बुझ्दा उत्तम होला भन्ने लाग्दछ । यो तरंगले साँस्कृतिक रुपमा बिराट लिम्बू संस्कृतिको एउटा आयाम अरु मान्छेले नि बुझ्ने अवसर पाएका छन् ।

नेपाली समाज आफैमा साँस्कृतिक रुपले विशाल र बृहत् छ । हरेक जाती र समुदायको आ–आफ्नै सभ्यता छ, संस्कार–संस्कृति छ । भौगोलिक हिसाबले निक्कै नै जटिल र विविधता हुनु नै नेपाली समाजमा साँस्कृतिक विविधताको मुल कारण हो । विशेष गरि आदिवासी जनजातिहरु जसले आफुलाई यो भुगोलमा सबैभन्दा पहिले आईपुगेको दाबी गर्दछन् । उनीहरुले नै यहाँको भूमिलाई आवाद बनाएको वा खेतियोग्य तथा मानव बस्ती बसाउन योग्य बनाएको मान्यता रहेको छ । उनीहरुको ऐतिहासिक सभ्यताको प्रमाणका रुपमा विभिन्न साँस्कृतिक मूल्य–मान्यता, मिथक एवं आदिवासी ज्ञान पाम्परामा प्रतिबिम्बित भएका हुन्छन् । त्यस्ता संस्कृति, परम्पराहरु हरेक थुम्कामा फरक भेटिन्छन् । हरेक खोला वारिपारी फरक भेटिन्छन् । अहिलेसम्म ति समुदायले पुस्तौँपुस्ता, सन्तान–दरसन्तान पुस्तान्तरण गर्दै जोगाउँदै ल्याएका संस्कृति र मान्यताहरु अहिले बल्ल आएर सार्वजनिक संचार माध्यमहरुमा, सृजनाका विभिन्न आयामहरुमा देख्न थालिएको छ । आदिबासी संस्कृतिमा आधारित फिल्महरुको निर्माण सुरु भएको लामो ईतिहास छैन । ४६ सालमा निरंकुश पंचायती व्यवस्थाको अन्त्य भएर नेपाल बहुजातिय, बहुभाषिक भएको स्वीकार गरिए पनि अभ्यासहरुमा देखिन लामो समय लाग्यो । आमसंचारका माध्यमहरु, खास गरि रेडियो नेपाल, नेपाल टेलिभिजनहरुले पनि बाध्यतावस निक्कै समयपछि बहुभाषामा एउटा समाचार बुलेटिन प्रसारण गरेर आफुलाई बहुभाषिक देखाउने प्रयास गरे । गीतसंगित, साहित्य सृजना तथा भिडियो ‘फर्म‘ मा आउने सबै जसो सृजना सामग्रीहरुमा बहुसंस्कृती झल्किन लामै समय लाग्यो ।

Advertisement

साहित्यमा बैरागी काईला, भुपाल राई, श्रवण मुकारुङ्हरु, संगीतमा बुलु मुकारुङ्हरु, फिल्ममा नवीन सुब्बाहरुको प्रवेशपछी भने बहुभाषा, बहुसंस्कृतिको अवधारणामा आदिवासी जनजातिहरुको मूल्य मान्यता तथा साँस्कृतिक सौन्दर्यहरुलाई सृजनामा समेट्न थालिएको हो भन्नू अत्युक्ति नहोला । पछिल्लो समय अर्थात नेपालको संविधान २०७२ पछिको थप खुला समाज र संविधानमा व्यवस्था भएका नीतिगत व्यवस्थाहरुले गर्दा पहिलाको तुलनामा सृजनात्मक खुलापन देखिएको छ । त्यही पृष्ठभूमिमा सृजनाका हरेक क्षेत्रहरुमा परम्परागत मान्यता र पद्दतिहरु पनि भत्किरहेका छन् । सौन्दर्यका नयाँ मानकहरु बन्ने क्रम जारी छ । पहिला बिहेको दृष्य देखाउनु वा व्याख्या गर्नु पर्दा हिन्दु संस्कारसँग सम्बन्धित सौन्दर्य र परम्परा मात्रै उल्लेख गरिन्थ्यो भने यतिखेर त्यो दृष्य कुन समुदायको हो, त्यही समुदायको संस्कृतिका आधारमा निर्माण गर्नुपर्छ भन्ने मान्यता स्थापित हुदैछ । यो पनि साँस्कृतिक चेतनाको बिस्तार हो भन्ने लाग्दछ । साथै अहिले आदिबासी जनजातिहरुको संस्कृति, सभ्यता, चिन्तन तथा ज्ञान प्रणालीसँग सम्बन्धित आख्यान, गैरआख्यान एवं श्रब्य दृष्य सृजनाहरु निरन्तर रुपले आईरहेका छन् । जो आजसम्मको मुलधार भनिएका सृजनाहरुभन्दा बिल्कुल फरक धार र स्वादका छन् । त्यही भएर यिनले समाजमा फरक खाले प्रभाव पारिरहेका छन् ।

खास गरि रंगमञ्चमा आदिबासी सौन्दर्य र मान्यताका आधारमा बनेका नाटकहरु नयाँ पुस्ता र पुराना कुराहरु बिर्सँदै गईरहेका पुराना पुस्ताहरुका लागि प्रीय बन्दै गईरहेका छन् । मित् ज्यू, जोखाना, खुवालुङ हुँदै मासिन्या, झोडा जस्ता नाटकहरुले आदिबासी जनजातिका सभ्यता र सौन्दर्यहरुलाई प्रस्तुत गरेका छन् । जो आजको पुँजिबादी बजार व्यवस्थाभन्दा बिपरित धारमा बग्ने गर्दछन् । यो सँगै यी समुदायले राज्य उत्पिडनको लामो भोगाई र आफ्नो मौलिकता गुमाउनु परेको दुखद कहानिहरु पनि सुनाउने गर्दछन् नाटकहरुले । यस्तै नाटकहरुको निर्माणका लागि चिनिएको एउटा नाम हो किरण चाम्लिङ ।

चाम्लिङ्ले जोखाना शीर्षकको नाटक निर्देशन गरेको बेला मैले पहिलो चोटि चिनेको थिएँ । निर्देशक भन्नासाथ मोटो ज्यान, पुटुक्क लागेको पेट अनि उमेरको निक्कै माथी पुगेको अल्छी लाग्ने पात्रको अनुहार आँखामा नाच्न थाल्छ । तर किरण चाम्लिङ त तन्नेरी उमेरको, हेर्दा फिट र लाहुरे कदको मान्छे देख्दा ‘यस्तो नि हुन्छ र?’ भन्ने लागेको थियो । जोखाना नाटक सानदार रुपमा सफल भयो । पछि खुवालुङ नामक नाटक बन्यो, त्यसमा पनि चाम्लिङ नै निर्देशक थिए । यो नाटकले थुप्रै रेकर्डहरु कायम ग¥यो नेपाली रंगमञ्चको ईतिहासमा ।

यसरी आदिबासी जनजातिहरुको बिषयलाई स्टेजमा उतार्ने चाम्लिङले बेलाबेलामा काँचको पर्दाका लागि पनि निर्देशन गर्ने गर्दछन् । र, त्यता पनि त्यही आदिवासी जनजातिहरुकै संस्कार, संस्कृतिलाई समातेर काम गरिरहन्छन् । केही बर्ष अघि गायिका पबित्रा सुब्बाको, ‘तिमी तारे भीर, म त लहरा…‘ बोलको अत्यन्तै लोकप्रिय गितलाई देबेस राईले गाएर भिडियो बनाईएको थियो । त्यो एउटा प्रेमिल गितलाई उनै किरण चाम्लिङ्को निर्देशनमा किराँत संस्कृतिमा आधारित कथाबस्तुमा भिडियो निर्माण गरिका थिए । यसर्थ किरण चाम्लिङ्को यो सृजनसिलता मलाई लोभलाग्दो लाग्छ ।

अहिले एउटा गीत छ भोईस अफ नेपालको पाँचौँ संस्करण विजेता बिनोद राईको स्वर संगीतमा रहेको ‘निबुखोले सोल्टिनी….’ बोलको यो गीतमा लिम्बुवानको एउटा महत्वपूर्ण संस्कृतिलाई ८ मिनेटभित्र देखाईएको छ । गंगा गगनको शब्द रचनाको यो गीतको लय सुन्दै गर्दा पाःलाम हाक्पारेहरुको लयमा अभ्यस्त कानहरुले त्यही पालाम–हाक्पारेको मिठास सम्झिन सक्छन् । नयाँ स्रोताको लागि नवीन स्वाद बन्न सक्छ । यो गीतको भिडियो हेर्दै गर्दा धेरै पुरानो एउटा सम्झनामा पुगेछु म ।

एकजना साथीले लिम्वुवानबाट बिहा गरे । उनको जन्ती जानुपर्ने भयो तमोर पारी । हामी झमक्कै साँझ पर्दै गर्दा पुगेथ्यौँ । त्यहाँ त पाहुनाहरुको लागि छुट्टै नयाँ बस्ने खाने ठाउँ बनाईएको थियो । हरियो स्याउलाले बारेको, त्यस्तैले छाना बनाएको अनि बाहिरबाट त्रिपालले छोपेको । भुइँमा बाक्लै गरि पराल ओच्छ्याएर त्यसमाथी कम्मल ओच्छ्याईएको थियो । हामीलाई सोल्टिनीहरुले हातैमा समातुँला जस्तै गरि लिएर गए र त्यो बस्न बनाईएको ठाउँमा बसाए। त्यो अनौठो अनुभूति थियो मेरो लागि। त्यो आतिथ्य, त्यो सत्कार फरक थियो मैले देखेको भन्दा । खानपानपछिको जमघट, घर गाउँलेको रमाईलो यी यावत कुराहरु मैले भोगेको, देखेको भन्दा बिल्कुल पृथक थियो । धाननाच, केही पटक देखेको हो, तर नाचेको थिएन । त्यहाँ जानीनजानी नाच्नु परेथ्यो । आदिवासी जनजातिहरुको त्यो खुलापन र ब्यक्तिगत स्वतन्त्रता महसुस गर्न सकिन्थ्यो । सोल्टिनीहरु ढुक्कै बसेर ख्यालठट्टा गरिरहेका थिए, नाच्नेहरु नाचिरहेका थिए । रक्सी वा तोङ्बा खानेहरु निस्फिक्री थिए । हाम्रो मुलधारको सामाजिक व्यवस्थाले त यसलाई ‘बिग्रेको समाज‘ भन्छ नि। तर जसले यो प्रयोग र अभ्यास हजारौँ बर्षबाट गरेर आएको छ । उसको नियमितता नै यहि हो भने कसरी बिग्र्यो ?

किरण चाम्लिङ्ले निर्देशन गरेको ‘निबुखोले सोल्टिनी…’ गितको भिडियोमा पनि यहि कुरालाई सुन्दर ढंगले देखाईएको छ । हामी जन्ती गएको बेलामा त हाम्रा साथिहरु कुनै सोल्टिनीको मनमा बस्न सके सकेनन् थाहा भएन, तर यो भिडियोमा भने निबुखोले सोल्टिनी (परीक्षा लिम्बू) को मनमा सोल्टी (अनिल सुब्बा) राम्रै गरि बसेको देखिन्छ । बिहामा लामेबा (कवि उपेन्द्र सुब्बाका अनुसार त्यो सुँगुर नभएर सानैमा खसी पारेर हुर्काईएको बुचा हो । त्यसलाई सुँगुर भनिदैन।) बोकेर बेहुलिको घर पुग्दै गरेका सोल्टिलाई जिस्काउन थालेका सोल्टिनिहरुसाग हात धुने ठाउँमा आँखा ठोक्किन्छ । तोङ्वा ल्याईदिँदा ठोक्किन्छ । राती धान नाचिरहँदा नि आँखाहरु निबुखोले सोल्टिनिकै खोजिमा रहन्छन् । अन्ततः निबुखोले सोल्टिनीलाई घर पछाडिको एकान्तमा भेटेर मायाको कुरा गर्न खोज्दा वरपर गरिहिड्नेहरुको टर्चको ‘स्पट लाईट्’ मा पर्छन् र सोल्टिनीको हातमा गलबन्दी छोडेर सोल्टी भाग्नु पर्ने अवस्था आईलाग्छ । यो दृष्य निक्कै रमाईलो र हास्य परक भए पनि उन्मुक्त प्रेम गरिहिँडेकाहरुका लागि एउटा मीठो नोस्टाल्जिया पनि हो ।

भोलिपल्ट बिहान बेहुली अन्माएर लैजाने समय हुँदै गर्दा तिनै सोल्टी–सोल्टिनीहरुको मुटुको धड्कन बढ्न थाल्छ । सोल्टिलाई जाउँ लाग्दैन । सोल्टिनीलाई पनि सोल्टी गईहाल्ने कुराले पोलिरहन्छ । तर, समय ती दुईका लागि रोकिन्न । मन नलागी–नलागी सोल्टी जन्तिहरुको पछि लाग्छन् । सोल्टिनी कतै लुकेर हेरिरहन्छिन् । सोल्टी ओझेल पर्नै लाग्दा हिजो रातिको गल्बन्दी याद आउँछ सोल्टिनिलाई । हतारहतार कोठामा पुगेर गलबन्दी ल्याईसक्दा सोल्टीसहितको जन्ती टोलि गईसकेका हुन्छन् । यी दुईको प्रेम कहानी कसरी अगाडि बढ्ला अब भन्ने कौतुहलता गीत बज्न छोडेको निक्कै समयसम्म पनि मनमा रहिरहन्छ । सायद निर्देशक र कलाकारहरुको तागत भन्नू नै यहि होला कि !

यो एउटा सुन्दर प्रेम कथा हो । तर, लिम्बू संस्कृतिको जगमा उभिएको प्रेम कथा । यो हिजो अस्ति मात्रै सुरु भएको संस्कृथि होईन । हजारौं बर्ष अगाडिबाट बिकसित भएर आएको यस्ता संस्कृतिहरुले बिराट ईतिहासको प्रमाण लिएर आएका हुन्छन् । यो गीतको दृष्य वा लिम्बू समुदायको यो संस्कृतिले के देखाउँछ भने यो समुदाय प्रेम गर्न वा छोरीहरुको स्वतन्त्रतामा कहिल्यै बाधक थिएन । मन परेको मान्छेलाई छान्न उनीहरु पुर्णतः स्वतन्त्र थिए । संचारको कुनै पनि साधनको बिकास नभएको त्यो बेलामा प्रेम ब्यक्त गर्ने, प्रेमी–प्रेमिका छान्ने वा प्रेमी प्रेमिकाका बिच भेटघाट र कुराकानी गर्ने यस्ता थुप्रै प्रचलनहरु थिए जसले गर्दा यो समुदाय आफैमा खुला हृदय र उदार संस्कृतियुक्त थियो भन्ने जिकिर गर्न सकिन्छ ।