June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

दयाहाङ क्रेजको डाईमेन्सन

दिलिप बान्तावा
२०८१ जेष्ठ ८

6.2K

नेपाली दर्शकहरुले ‘जिरो हेटर्स’ अभिनेताका रुपमा चिन्छन् दयाहाङ राईलाई। तर, कतै कर्नरहरुबाट उनका बारे फरक टिप्पणीहरू पनि आउने नगरेका होईनन्। जस्तो कि, दयाहाङ्ले खेल्ने सबै फिल्ममा उस्तै चरित्र र उस्तै स्वभाव देखियो।अभिनयमा फरकपन भएन। केही दिन यता केही टेलिभिजन कार्यक्रम, युट्युब क्रीयटर तथा फिल्मी खबर प्रसारण गर्ने केही अनलाईनहरुले निरन्तर एउटै ब्यहोराको सामग्री उत्पादन, प्रसारण गरिरहेका छन्। उनीहरुको तर्क छ, ‘दयाहाङ्सँग दर्शकहरू वाक्क भईसके। उनकै मात्र फिल्महरू निरन्तर आइरहनाले दर्शकहरू फिल्म हेर्न जानै छोड्दैछन्।’ यस्तै-यस्तै। यद्यपि केही अपबादबाहेक हरेक बर्ष उनका फिल्महरू ‘सुपर हिट’मा दरिईरहेकै छन्। दयाहाङ्को बारे यो खाले टिप्पणीहरू यस अघि पनि नभएका होईनन्। तर, यसपटक अलि व्यवस्थित र ठुलै समूह परिचालितभइरहेको आभास हुन्छ।

चलचित्र ‘लूट’ पछि नेपाली सिनेमाको ‘कोर्स’ बदलियो। एउटा शास्त्रीय ढाँचामा निश्चित शुत्रभित्र फिल्म बन्ने परम्परालाई लूटले तहसनहस बनाइदियो। त्यही भग्नावशेषबाट जन्मिए दयाहाङ राई, सौगात मल्ल, बिपिन कार्की, खगेन्द्र लामिछाने, प्रविण खतिवडा लगायतका कलाकारहरू। त्यहीँबाट नेपाली सिनेमामा उदाए निर्देशक निश्चल बस्नेत, जो पढ्नका लागि अष्ट्रेलिया पुगेर सिनेमाको तिर्खा मेट्न नेपाल फर्किएथे।

ठिक त्यसैबेला नेपालको राजनैतिक वृत्त निक्कै पेचिलो विषयहरुले तातिरहेको थियो। ईमानसिं चेम्जोङहरुको पुस्ताबाट सुरु भएको साहित्यमा आदिवासी जनजातिहरुको सौन्दर्य चेतको बिकास बैराँगी काइँला, भुपाल राई हुँदै सृजनसील अराजकताबाट उदाएका राजन मुकारुङ, हाङ्युग अज्ञात, उपेन्द्र सुब्बाहरुसम्म आईपुग्दा बैँशालू भईसकेको थियो। कला, साहित्य, सृजनाहरुमा आदिवासी सौन्दर्यलाई स्थापित गर्ने प्रयत्नहरू सबैतिरबाट भईरहँदा नेपाली राजनीति पहिचान, संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता बिषयहरुमा धुन्मुनिरहेको थियो। यिनै परिवेशहरुमा नेपाली सिने क्षेत्रले पनि शुत्रवद्ध र परम्परागत कथा वाचनको घेराभित्रको सिमितताबाट नवीन मार्गको खोजी गरिरहेको थियो। यस्तै बेला चलचित्र लूट बन्यो। नेपाली चलचित्रबाट बिरक्तिएका दर्शकहरुले आफ्नै कथा, आफ्नै वरिपरिको परिदृष्य, आफ्नै साथी जस्ता पात्रहरु पर्दामा देखे। यसले उनीहरुलाई नेपाली चलचित्रमा तान्यो भने नेपाली चलचित्रमा नयाँ प्राण भरिदियो। यता लूटले नेपाली सिनेमाको क्यान्भास अप्रत्यासित तवरले बढाईदियो, उता राजन मुकारुङ्ले ‘दमिनी भीर’का लागि मदन पुरस्कार पाए। दमिनी भीरले मदन पुरस्कार पाउनु भनेको तत्कालिन समयमा मुलधार भनिने साहित्यिक चेतकाबिरुद्ध संघर्ष गरिरहेको साहित्य लेखनको धारले मुलधारको बाटो तय गर्ने एउटा कोसेढुंगा थियो। अर्कातिर त्यही समयतिर नेपालमा दोस्रो संविधानसभाको निर्वाचन पनि हुँदै थियो। यो निर्वाचनपछि बनेको नयाँ संविधानले धेरै परम्परागत विषयहरुलाई रिफर्म गरेको छ। भाषिक, साँस्कृतिक, जातीय लगायतका विविधताहरुलाई सम्बोधन गरेको छ र यसका लागि सम्बन्धित पक्षहरुले गरेको संघर्षको प्रतिफल थियो।

Advertisement

एकातिर राजनैतिक आन्दोलनले युगौँदेखि बहिस्करण परेका, किनारामा छोडिएकाहरुलाई जागृत गरिरहेको थियो, अधिकारप्रति सचेत बनाईरहेको थियो भने अर्कातिर त्यतिबेलाको साहित्यिक, साँस्कृतिक आन्दोलनहरुले उल्लेखित समुदायहरुको संस्कृति तथा सौन्दर्यहरुका बारे सचेतना बढाईरहेको थियो। अर्थात ‘हाम्रा संस्कृति, भाषा, सभ्यता, पहिचानहरू पनि उत्तिकै महत्वपूर्ण छन्, जति राज्यले प्रवर्द्धन गरेको चिजहरू महत्वपूर्ण छन्।’ भन्ने चेतनाको विकास भयो। सँगसँगै ‘यसका लागि हामी आफै नेतृत्व गर्न तयार छौँ।’ भन्ने हिम्मतका साथ अगाडि आईरहेका थिए।

आदिवासी जनजातिहरुका कुराहरू कवितामार्फत, कथा/उपन्यासमार्फत उजागर हुन थाले। धेरै जसो यही समुदायका मान्छेहरुसमेत त्यो समय अघिसम्म आफ्नो समुदायका बारे उदासीन देखिन्थे। उनीहरुले पनि बिस्तारै सचेततापूर्वक चासो दिन थालेसँगै क्रमशः आदिवासी जनजातिहरुको भाषिक, साँस्कृतिक सौन्दर्यहरू कला, साहित्य तथा राजनीति एकैचोटी धक्का दिएर आफ्नो स्थान निर्माण गर्ने बाटोमा देखिए।

चलचित्र लूटले पुरानोलाई भत्काएर बनाउँदै गरेको नयाँ मैदानमा अब कस्तो सिनेमा बनाउने त? यस्तै जिज्ञासाहरूसँगै ‘अभिनय मै केही गर्नुपर्छ’ भनेर प्रयास गरिरहेका तन्नेरीहरुको समुहले आफ्नै प्रयासमा कबड्डी सिनेमा निर्माण गरे। मध्यपश्चिम नेपालको थकाली आदिवासी जनजाति समुदायको कथामा आधारित यो चलचित्र अर्को ‘बेन्चमार्क’ बन्न पुग्यो। कबड्डी चलचित्र धेरैको आँखामा पर्नुको पछाडी कलाकारहरुको अभिनय वा कथाबस्तु मात्रै जिम्मेवार छैन। तत्कालिन समयमा नेपाली समाजमा विकास भईरहेको सामाजिक मनोविज्ञान पनि प्रमुख कारण थियो। किनभने त्यो त्यस्तो समय थियो, जतिबेला एकातिर पहिचानको आवाज बुलन्द हुँदै गईरहेको थियो भने अर्कातिर सदियौँदेखि दलनमा परेकाहरू आफ्नो अनुहार सार्वजनिक वृत्तमा ठूलो स्वरमा कराउँदै खोजी गरिरहेका थिए। यिनै पृष्ठभूमिहरुका विच उनीहरुले सिनेमाको पर्दामा दयाहाङ राईलाई भेटे।

यसर्थमा दयाहाङ राई रातारात, एकैचोटी नेपाली सिनेमामा उदाएका कलाकार थिएनन्। बर्षौँदेखि चलेका सानाटूला सामाजिक न्यायका आन्दोलनहरुले उठाईरहेको बिषय र आवाजहरुको एउटा सामुहिक प्रतिफलका रुपमा स्थापित कलाकार हुन्। दयाहाङ राईको केन्द्रीय चरित्र मन पराईन थालिएपछि चुच्चो नाक, ठूला आँखा, लाम्चो अनुहार, अग्लो र खाइलाग्दो ज्यान परेका कलाकार मात्रै चलचित्रको हिरो वा केन्द्रीय चरित्र हुन्छ भन्ने मान्यता मात्रै भत्किएन मुलधार भनिने चलचित्रहरुमा शुत्रात्मक निर्माण शैली, हिन्दु धर्म संस्कृतिसँग सम्बन्धित प्रसंगहरू वा भनौँ हिन्दु धर्म दर्शनमा आधारित दृष्टिकोणहरुले भरिएका कथाहरू मात्रै सुनाइने एकल प्रथासमेत बदलियो। फलस्वरूप यहाँका जनजातिहरुको मिथक, संस्कृति, सभ्यता तथा विश्व दृष्टिकोणमा आधारित कथाहरू चलचित्रको पर्दामा चल्न थाले। दर्शकहरुले तिनै कथाहरू मन पराउन थाले। किनभने ती कथाहरू आफ्नै भोगाइसँग नजिक थिए। पात्रहरु आफ्नै वरपर देखिन्थे, भाषिक लवज पनि आफ्नै लाग्ने, चरित्रमा देखिने अनुहारहरू पनि आफूभन्दा खास फरक नदेखिने। यिनै कारण हुन्, जसले पछिल्लो समय तत्कालिन अवस्थामा मुलधार भनिएका चलचित्रहरु भन्दा समुदायमा आधारित कथाहरुमा बनेका फिल्महरू दर्शकको रोजाइमा पर्ने गरेका छन्।

अब प्रसङ्ग आउँछ, यस्ता फिल्महरुको केन्द्रीय भूमिकामा दयाहाङ राई नै किन? माथी नै उल्लेख भएको छ कि, दयाहाङ राई एउटा लामो समय र प्रक्रियाहरु पछि नेपाली चलचित्र जगतमा स्थापित नाम हो। उनको एउटा ब्राण्ड बनेको छ, जसरी कुनै समय राजेश हमालको ब्राण्ड थियो। चलचित्र एउटा व्यवसाय पनि हो। करोडौँ पैसा लगानी गरिन्छ। व्यापारमा ब्राण्डको ‘भ्यालु’ हुन्छ। मुख्य कारण यही हो, जसले गर्दा दयाहाङ्लाई धेरै फिल्महरुमा देखिनु परिरहेको छ। तर केही दिन अगाडिबाट सुरुमा उल्लेखित प्रसङ्ग जस्तै दयाहाङका बारे टिप्पणी गरिहाल्नु हतारो हुनेछ भन्ने लाग्दछ। सबै फिल्ममा उस्तै अभिनय भन्नुको अर्थ के हुन्छ? के लूट र मनसराको कथा एउटै हो? वा जारी र नीरफूल उस्तै हुन्? कि गाउँ आएको बाटो र कबड्डी उस्तै भुगोल र समुदायका कथा हुन्? या दासढुंगा र रंगेली उस्तै हुन्? यी सबैको कथामा जति फराकिलो अन्तर छ चरित्र र अभिनयमा पनि उत्तिकै अन्तर त भेटिन्छ नै। फिल्म हलमा पुग्दै गर्दा पर्दामा कुनै एउटा कलाकार हेर्ने कि कलाकारले निभाएको चरित्र हेर्ने भन्ने हुन्छ सायद। बलिउडका हिरोहरू सलमान खान वा शाहरुख खानहरू कै फिल्म हेर्ने हो भने पनि प्रत्येक फिल्ममा एउटै लवजमा बोल्छन्। उस्तै शैलिमा हिँड्छन्। के तिनलाई पनि ‘चिनी धेरै भयो’ भन्दिने हो त? लगातार आफ्ना फिल्महरू आइरहेको बिषयमा दयाहाङले एउटा कुराकानीमा भनेका छन्, ‘धेरै जसो फिल्महरू लकडाउन अगाडि पनि खिचिएको थियो। दुई बर्षको लकडाउनले प्रदर्शन हुन पाएन। त्यसो हुँदा अहिले प्रदर्शनको चाप परेको हो।’ यद्यपि अन्य स्टार कलाकारहरुको बर्षमा एक दुईवटा फिल्म मात्रै प्रदर्शनमा आए पनि ती फिल्मले उल्लेख्य चर्चा र व्यापार भने गरेको देखिँदैन, तर तिनै कलाकारलाई ‘सर्वश्रेष्ठ अभिनेता’को पदक थमाईदिँदा नेपाली चलचित्रको साख उँचो भएको मान्नुपर्ने हो? जब कि दयाहाङ राई अभिनित ९ वटा फिमहरू गत बर्ष प्रदर्शन भएका थिए। ती मध्ये सबैले आफ्नो लगानी सुरक्षित गरेका थिए भने जारी, कबड्डि ४ जस्ता बक्स अफिसमा सर्वाधिक उत्कृष्ट चलचित्रहरु पनि बनेकै थिए। 

तसर्थ,  दयाहाङ राई  केवल एकजना अभिनेता मात्र नभएर सिंगो नेपाली चलचित्र विकासको एउटा धारलाई नेतृत्व गरिरहेका एक नेता हुन्। उनको लोकप्रियता पछि नै हो नेपालका विभिन्न समुदायका आआफ्ना कथाहरुमा फिल्म बनाउने हिम्मत पलाएको। कवि तथा निर्देशक उपेन्द्र सुब्बा भन्छन्, “यदि दयाहाङ राई स्टार नभएको भए मलाई चलचित्र निर्देशन गर्ने आँटै आउँदैनथ्यो।” यदि त्यसो भएको भए ‘जारी’ र ‘मनसरा’ बन्ने नै थिएन। जारी यस्तो फिल्म हो जसले कोरोनाका कारण लामो समय थलिएर बसेको सिने जगत लकडाउन हटेर पनि ब्युँझिन सकेको थिएन। तर जारीले हलहरुमा दर्शकहरुको मेला लगाइदियो र एकैपटकमा नेपाली सिने जगतलाई तङ्ग्र्याईदिएको थियो। अभिनेता माओत्से गुरुङको भनाई छ, “दयाहाङ राई ब्यस्त हुनु भनेको अन्य आम कलाकार तथा फिल्ममा काम गर्ने सबै मान्छेहरु पनि ब्यस्त हुनु हो। अरु कलाकार ब्यस्त हुनु भनेको उनिहरुसंग जोडिने परिवारको चुलो बल्नु हो।” यो सन्दर्भमा दयाहाङ राईले आदिवासी जनजातिहरुको कथालाई पर्दामा देखाउने काम सँगसँगै सम्बन्धित समुदायका कलाकारहरुलाई रोजगारी र व्यस्ततासमेत सृजना गरेका छन्। दयाहाङ केन्द्रीय पात्र भएपछि उनको सहायक चरित्रहरू पनि उनकै मुहार र कद मिल्ने कलाकार आवश्यक भैहाल्यो। उनको चलचित्र छनौटको विषयमा निर्देशक रामबाबु गुरुङको बुझाई छ, “दयाहाङ राई स्क्रिप्ट छान्न सघाउनु पर्ने मान्छे होईन। कुनमा काम गर्ने, कुनमा नगर्ने भन्ने बिषयमा पर्फेक्ट निर्णय लिएरै काम गरिरहेका हुन्छन्।” 

यसरी समय, सामाजिक परिवेश सँगसँगै आफ्नो व्यवसायीक ईमान्दारिता र लगाव अनि मेहनतको जगमा उभिएका दयाहाङ राईप्रति आम दर्शक तथा सिनेमा निर्माताहरुको अपेक्षा र भरोसा उच्च छ। भर्खरै अस्ति सुटिङ सकिएर प्रदर्शनको तयारीमा जुटिरहेको चलचित्र घरज्वाइँका लागि निर्देशकले दयाहाङको समय तालिकामा पर्न तीन बर्ष पर्खिनुपरेको प्रसङ्ग पनि बाहिर आएको थियो। निर्माणको चरणमा रहेका थुप्रै चलचित्रहरुले यसरी नै उनको कार्यतालिका पर्खिरहेकै छन्। यी सबै सुखद कुरा नै हुन्। उनको निरन्तर प्रदर्शन भइरहने चलचित्रहरुले आमदर्शकलाई नभएर उनलाई प्रतिस्पर्धी मान्नेहरुलाई झिँजो लाग्नु स्वभाविक छ। सायद आदिवासी जनजातिहरुको दृष्टिकोणबाट गरिने समाज विश्लेषण र साँस्कृतिक चेतका कुराहरु परम्परागत मान्यतामा अडिएकाहरुका लागि अपाच्य वा बढी भएको पनि लाग्न सक्छ।

अन्त्यमा, मालिकसँग निहु खोज्ने बहाना नपाएपछि ‘माछाको लेग पिस’ मागेर झगडा गरे जस्तै दयाहाङलाई विवादित बनाउने अन्य बिषयहरू नपाएपछि दुईचार वटा यूट्यूब कमेन्टहरुका आधारमा उनलाई कमजोर देखाउने प्रयत्नहरू खासै प्रभावकारी हुन् भन्ने लाग्दैन। त्यो कुनै एकथान आहारिसे तत्वले तयार पारेको सामग्री मात्र हो ।
यद्यपि दयाहाङ राईले सकेसम्म आफूलाई दिईने चरित्रका लागि बढी समय दिएर त्यो चरित्रलाई विश्वासनीय ढंगले निभाउने प्रयास गर्नुपर्ने चाहीँ देखिन्छ। निर्देशकहरुले पनि भूमिकामा विविधिकरण ल्याउनु आवश्यक छ, जसले दयाहाङको बहुआयामिक अभिनयलाई उजागर गर्न सकोस्।