January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

विपिन जोशीलाई चिट्ठी: “सत्ताका गधाहरुको महत्वमा तिमी नपरेकै हौ”

2.1K

प्रीय विपिन !
थाहा छैन यो सन्देश तिमी कहाँ पुग्छ या पुग्दैन । तिमी पढ्न सक्छौ कि सक्दैनौं । तर तिमीलाई सम्झिँदा म जसरी दुखिरहेको छु, आज यी शब्दहरु मार्फत त्यही घाउ देखाउने प्रयास गरेको छु ।
यतिबेला तिमी बेपत्ता भएको आधा बर्ष बित्न लागिसकेको छ । यो आधा बर्षमा तिमीले कस्तो बुहार्तन भोग्यौ ? त्यो मेरो कल्पनाभन्दा बाहिर छ । न त तिम्रा निजि दुस्मन थिए उनीहरु, न त तिम्रा हाम्रा देशका राष्ट्रिय दुस्मन थिए ती । तिनले दुस्मनी साँधेका देशको भुगोलमा कदम राख्नु तिम्रो अपराध बन्यो । तिमी त्यही युद्धको “ईपिसेन्टर” मा पर्‍यौ जहाँ पुस्तौँदेखि स्वाभिमानको लडाइँ लडिरहेका दुई छिमेकी मुलुकहरुको सिङ जुधाई पर्ने गर्दछ ।

त्यसो त हामीले पछिल्लो दुईसय बर्षको इतिहासमा कहिल्यै पनि आफ्ना लागि युद्ध लडेनौँ । अरुकै लागि लड्यौँं, मर्‍यौं । बरु आफू–आफू लड्यौँ, मर्‍यौं। यो सिलसिला कहिलेसम्म चल्छ थाहा छैन।

नेपाल–अंग्रेज युद्धका बेला वीरता देखाएका योद्धाहरुलाई समेत तत्कालिन राज्यसत्ताले बेवास्ता मात्र गरेन उनीहरुलाई अपमान गर्‍यो बरु र, उनीहरु भारतका विभिन्न रजौटाहरुको फौँजमा सामेल भएको इतिहास पढ्न पाईन्छ । आफ्नै सिमा रक्षाका लागि दिलो ज्यान दिनेहरुको त्यो हबिगत बनाउने राज्यसँग अरु कुराको अपेक्षा के गर्न सकिएला खै ? व्यवस्था बदलिएको हो तर राज्यको चरित्र र मनोबिज्ञान अझै बदलिएको देखिँदैन।

Advertisement

विपिन, हामीले तिम्रो वीरताको खवर तिमीले बँचाएर बाँचेका तिम्रा साथीहरुको अन्तर्वार्ता पढेर, सुनेर थाहा पाएका हौँ। तिमीलाई अन्तरहृदयबाटै सम्मान छ । ती आततायिहरुले एकै धमाकामा सबैलाई सिध्याउने गरि फालिदिएको बम टिपेर उनीहरुतिरै फालिदिने तिम्रो त्यतिबेलाको हिम्मत र मनोदशा कस्तो थियो होला ! तिम्रो त्यो साहसको प्रसंग पहिलोपटक पढ्दै गर्दा मेरो श्वास रोकिए जस्तो लागेको थियो। घाँटीमा केही कुरा अड्किए झै भएथ्यो । तिम्रो सम्मानमा अनायसै आँसु खसेको थियो । तिमीले १७ जना साथीहरुको ज्यान त बँचायौ तर तिमीले आफुलाई जोगाउन सकेनौं । हाम्रो मान्यता छ, आफ्नो ज्यानको प्रवाह नगरी अरुको ज्यानको रक्षा गर्ने वास्तविक वीर हुन् । तिमी त्यही वीर हौ ।

तिमी त्यहाँ कुनै पनि देश वा कुनै देशको कुनै पनि समुहको पक्ष वा बिपक्षका लागि गएका थिएनौ । एउटा आम नेपालीका हिसाबमा आफ्नो रोजिरोटीको लागि श्रम गर्न पुगेका थियौ । तिमीलाई न त प्यालेस्टाइनको हमाससँग कुनै दुस्मनी थियो, न त ईजरायलको ताबेदारी । तर, ती आततायिहरुले तिमी र तिमी जस्तै श्रम गर्न त्यहाँ पुगेका सारालाई आफ्नो दुस्मन ठान्यो र गोली बर्सायो । त्यही क्रममा तिमी आफ्ना १७ जना नेपाली साथीहरुलाई बचाएर आफू आक्रमणकारिको कब्जामा पर्‍यौ । उनीहरुको बन्दी बन्यौ। ती आततायिका लागि तिमी सिर्फ एउटा अंक हौ। तर तिम्रो घर परिवारका लागि सर्वस्व हौ । देशका लागि पनि एउटा जिम्मेवार नागरिक हौ। आफ्नो नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको कर्तब्य हो। अझ तिमी त राज्यले नै स्वीकृति दिएर ईजरायल पुगेको नागरिक थियौ। राज्यले तिम्रो खोज खवरका साथै उद्दार गर्नका लागि कुनै कसर छोड्नु हुदैनथ्यो। तर विपिन, तिमीलाई थाहै छ, हाम्रो राज्यसत्ता कति निरीह छ, निकम्मा छ । केही थान नेता र मन्त्रीहरुले “गोहि आँसु” शैलीमा प्रतिक्रिया दिए केही दिन । संसदमा पनि तिम्रा कुराहरु उठे, तर वर्षादमा पानीको फोका जस्तै। सत्ताका लागि लुछाचुँडी गरिरहेका “सत्ताका गधा” हरुको महत्वमा तिमी नपरेकै हौ।

प्रीय विपिन! त्यसो त सुनौलो भबिस्यको सपना बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोडिरहेका हरेक युवाहरुको गन्तव्य “ब्ल्याक होल” तिर खसिरहेको कुनै तारा जस्तै लाग्छ । कमसेकम हामी नेपाली युवाहरुका लागि यो लागू हुन्छ । किनभने विमानस्थलबाट छुटिरहेको त्यो जहाजले जहाँ, जता पुर्‍याए पनि युवाहरुलाई जोखिमको त्यो उच्चतामा पुर्‍याईदिन्छ जहाँबाट जोगिएर हिँड्नु “ब्ल्याक होल” को गुरुत्वाकर्षणबाट बँच्नु जतिकै कठिन छ । यसको प्रमाण त त्यही अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक दर्जनौँ बन्द बाकसमा फर्किरहेका निष्प्राण युवाहरुको ताँतीले दिईरहेकै छ । गाउँका गाउँ रित्याएर अमेरिका पुग्ने सपनाले लखेटिरहेका कति युवाहरू पानामाको जंगलमा भौँतारिरहेका छन् त कति युवाहरु मेक्सिकोको समुन्द्रतिरै हराईरहेका छन् । आईटी कम्पनिमा राम्रो जागिर पाउने प्रलोभनमा फसेर कोही रुसी फौँज त कोही युक्रेनी फौँजमा सामेल भएर नेपाली युवाहरु नै आपसमा बन्दुक हानाहान गरेर ढलिरहेछन्। तिनैको बन्दुक बोकेका कति युवाहरु सम्पर्कवीहिन बनेका छन् । तिनको उद्दार त परै जाओस् यसको लेखाजोखा गर्ने फुर्सद समेत राज्यसँग भएको देखिँदैन।

विपिन, वीरता र उदारता हामी नेपालीले हाम्रै माटो र हावापानीबाट वीरासतमा पाएका छौँ सायद । इतिहासदेखि अहिलेसम्म त्यस्ता थुप्रै तथ्यहरू भेटिन्छन् । चाहे फक्ल्याण्ड टापुमा अर्जेन्टिनीहरुलाई लखेट्दा होस् वा मलाया, बर्मातिरको लडाइँमा । वा हिजो अस्ति मात्रै अफ्गानिस्तानमा आफ्नै पोस्टमा उभिएर एक्लैले दर्जनौँ आततायिहरुलाई सखाप पार्ने शाहस या भारतीय रेलमा डकैतहरुबाट यात्रुहरुलाई सुरक्षित गर्न खुकुरी कै भरमा दर्जनौँ डाकुहरुलाई एक्लैले लखेटेको घट्ना होस्, यी सबैले वीर गोरखालीको उपमालाई अझ उच्च बनाईदिएको छ । वीर, गोर्खाली जस्ता शब्दहरुका बारे हाम्रो देश भित्र अनेक बहसका सिलसिलाहरु जारी छन् त्यसो त । त्यो बहसको बेग्लै पाटो हुन सक्छ । यद्यपि यी शब्दहरु कम्तिमा हाम्रो चिनारी बनेका छन् सिमाना बाहिर । हो, यही लहरमा तिमीलाई राख्न चाहन्छु विपिन। तिमी त्यही शाहसी हौ, तिमी त्यही वीर हौ जसले ज्यानको परबाह नगरी आईलाग्ने माथी प्रत्याक्रमण गर्‍यौ।

तिमी यतिखेर कहाँ छौ, कुन अवस्थामा छौ ? त्यो चासो मैले भन्दा बढी राज्यले राख्नुपर्ने हो । तिम्रो घरपरिवारलाई तिम्रो बेपत्ताले जति पोलिरहेको छ, त्यो भन्दा ज्यादा राज्यलाई पोल्नु पर्ने हो । किनभने यतिखेरको राज्य व्यवस्था परिबर्तन गर्नका लागि हाम्रो पुस्ताको पनि योगदान छ, तिम्रो पनि योगदान छ । यो व्यवस्था परिवर्तनको लडाइँ लडिरहँदा हामीले कल्पना गरेको राज्य व्यवस्था त हरेक नागरिकको सुखदुखलाई अपनाउने र समस्याहरुलाई तत्काल सुल्झाउने खालको हुनेछ भन्ने नै थियो। तर आज ६ महिना बित्न लाग्दा पनि तिम्रो अवस्थाका बारे हाम्रो राज्यले ठोस उत्तर दिन सक्दैन। अर्थात उत्तरको खोजिमा कुनै कसरत नै नगरिरहेको प्रतित हुन्छ । यति बेलाको सबैभन्दा दुखद क्षण हो यो ।

युक्रेन–रसियाको युद्धमा दुबैतर्फ सामेल करिब ३ सय जना नेपाली युवाहरु हराईरहेका छन्। खाडी मुलुकहरुतिर कतिजना सुतेको सुत्यै मृत्यू वरण गरिरहेका छन्, कति कार्यस्थलको तनाव खप्न नसकेर आत्महत्या गरिरहेका छन् त कतिपय नेपाली युवाहरु ती बिदेशी आलिशान भवनहरुको भित्ता सिंगार्दा सिंगार्दै घरको भित्ताबाट माउसुली भुइँमा खसे जस्तै खसिरहेका छन्। हामी यी र यस्ता समाचारहरु पढ्न, सुन्न अभिषप्त छौँ, अभ्यस्त छौँ। सुन्छौँ, फेरि सुन्छौँ र बिर्सन्छौँ। किनभने हामीले ब्यक्तिगत तवरले केही गर्न सक्ने अवस्था रहदैन। हाम्रो राज्य अन्तर्राष्ट्रिय बिमानस्थलको बन्द बाकस गन्न समेत भ्याउँदैन।

विपिन, तिमी सकुशल छौ यो मेरो कामना हो। तिमी फर्किएर आउनुपर्छ र लेख्नुपर्छ एउटा कठिन इतिहास, जहाँ हाम्रो कुनै पनि पुस्ताले आफ्नो लागि नलडेको युद्धमा हामी कसरी धकेलिईरहेका छौँ भनेर ।

तिम्रो शुभेच्छुक
दिलिप बान्तावा
दक्षिण कोरिया