October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

जीवन शर्माका दुई उपन्यास ‘इन्भिन्सिवल लभ’ र ‘मेमोरी अफ सेभियर’ प्रकाशित

4.1K

काठमाडौं । सिक्किमका लेखक जीवन शर्माका दुई उपन्यास ‘इन्भिन्सिबल लभ’ र ‘मेमोरी अफ सेभियर’ प्रकाशनमा आएको छ । दुवै उपन्यास ड्रीमबुक प्रकाशन दिल्लीले साहित्य बजारमा ल्याएको हो ।

लेखक शर्माका अनुसार यी दुवै उपन्यास डिजिटल प्लेटफर्महरू एमाजोन, डृमबुक र पेपर ब्याक, र ई बुक किन्डल भर्सनमा पनि उपलब्ध छन् । पुस्तकलाई विश्वबजारमा पुगोस् भन्ने उदेश्यले डिजिटल प्लाटफर्ममा राखिएको शर्माको भनाइ छ ।

उपन्यास ‘इन्भिन्सिवल लभ’ थ्रीलर तथा रोमान्टिक लभ स्टोरी भएको शर्मा बताउछन् । ‘यो उपन्यास यात्रा सम्बन्धि हो । जापान र चाइनाको बीचमा अवस्थित येल्लो सीको क्रुजमा भएको रमाइलो घटनलाई समेटेर उपन्यास तयार पारेको हुँ ।’, शर्माले भने । साथै यो अलिक हरर किसिमको पनि रहेको उनको दाबी छ । उनले भने, ‘पढ्दै जाँदा पाठकलाई फिल्म हेरेको महसुस हुन्छ। यो उपन्यास पढिसक्दा हलबाट मुभी हेरेर निस्किएको महसुस होस् भन्ने उदेश्यले लेखिएको हो।’

Advertisement

यस्तै, ‘मेमोरी अफ सेभियर’ पनि यात्रा सम्बन्धी नै रहेको तर यसमा भने रेलवेको यात्रा र त्यहाँबाट देखिएको विविध जीवन र भोगाइ सम्बन्धि रहेको बताए। उनले भने, ‘रेल विभिन्न ठाउँ हुँदै गएको हुन्छ, त्यसमा मान्छेको भोगाइ केकस्तो हुन्छ ? र समाजलाई भित्री रुपले कसरी नियाल्न सकिन्छ भन्ने देखाउन खोजिएको छ। साथै यो समाजलाई कसरी सही रुपमा ल्याउन सकिन्छ भन्ने परिकल्पना पनि हो । समाजलाई बिक्रीतिबाट बचाउने कुनै न कुनै सेभियर हुन्छ, जसको कहिलेसम्म आवश्यक हुन्छ ? भन्ने प्रश्नसहितको उपन्यास हो ।’

सिक्किमका लेखक शर्मा गायक तथा संगीतकार पनि हुन् । उनको ‘आउ हामी प्रेम गरौं’, ‘फूल जस्तै’, ‘रेटेसम्म बज्छु’, ‘डाँडापाखा हरियाली’, ‘जतै मान्छे’, ‘अलिकती पिउदैछु’ लगायत करिब २०/२५ गीत गाइसकेका छन् भने करिब ३०/४० वटा गीतमा संगीत भरेका छन् । ‘एग्रीकल्चरल मार्केटिङ एक्सपर्ट’ शर्मा हाल सिक्किम सरकारको मार्केटिङ फेडरेसनमा जेनेरल म्यानेजरसमेत हुन् ।