April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हाम्रो किताब घरको पहलमा दोस्रो ‘शशि प्रभा स्मृति पुरस्कार’ प्रदान गरिने

5.8K

पचास हजार नगद राशीको साहित्यिक पुरस्कारको लागि २०२० देखिको किताब पठाउन सक्ने

सिलिगुड़ी ।‘हाम्रा किताब घर’ मार्फत प्रत्येक वर्ष प्रदान गरिने दोस्रो ‘शशि प्रभा स्मृति पुरस्कार–२०२३ को लागि भारतभरबाट नेपाली पुस्तकको आह्वान गरिएको छ । सिलिगुड़ीमा एक पत्रकार सम्मेलनबीच दोस्रो शशि प्रभा स्मृति पुरस्कारको घोषणा गर्दै २०२० देखि हालसम्म प्रकाशित पुस्तकहरू पठाउन सक्ने आह्वान गरेको हो ।

हाम्रो किताब घरका निर्देशक छेवाङ योञ्जन, पुरस्कारदाता तथा आख्यानकार विजय वान्तवा कैलाशी, कवि अरूनचन्द्र राई र भक्ते थामीले संयुक्त रूपमा प्रेस कन्फरेन्सको आयोजना गर्दै नेपाली पुस्तकको आह्वान गरेका हुन् ।

भारतको कुनै पनि क्षेत्रबाट प्रकाशित उत्कृष्ट एक कृतिलाई उक्त पुरस्कारमार्फत सम्मान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट कृतिले नगद पचास हजार रूपियाँ र प्रशंसापत्र प्राप्त गर्नेछ ।

Advertisement

सोही विषयबारे अवगत गराउँदै किताब घरका प्रमुख छेवाङ योञ्जनले भने, ‘किताब घरले २०२० देखि घर–घरमा नेपाली किताब पु¥याउने कार्य गरिरहेको छ । भारतमा सबै भन्दा पहिले घर–घर किताब पुर्‍याउने अभियान सुरू गर्ने किताब घरले आख्यानकार विजय वान्तवा कैलाशीको सुझाव पश्चात उनकै दिवाङ्गत धर्मपत्नी शशि प्रभाको स्मरणमा साहित्यिक पुरस्कार सुरू गर्ने निधो गरेको थियो । अघिल्लो वर्षबाट सुरू गरिएको उक्त पुरस्कार यसचोटि पनि प्रदान गरिनेछ । यसर्थ हामी भारतभरिका नेपाली लेखक, प्रकाशक तथा अनुवादकहरूलाई हाम्रो किताब घरमा पुस्तक पठाइदिन हार्दिक अनुरोध गर्दछौँ ।’

उनले हाम्रो किताब घर, लामा बिल्डिङ, लोयला स्कूल गेट नजिक अप्पर रोड, गुरूङ बस्ती सिलिगुड़ी– ७३४००१ मा लेखकहरूले किताब पठाउन सक्ने जानकारी गराएका छन् । यस अतिरिक्त लेखकहरूले किताब घरका प्रबन्धक भाग्यहाङ लिङ्देनलाई ७००१३३१८४४ मा सम्पर्क गरेर पनि पुस्तक दिन सक्ने छन् ।

साहित्यिक पुरस्कारलाई पारादर्शिता पूर्वक सञ्चालन गर्न तथा सही किताबको मूल्याङ्कन हुन जरूरी रहेको भन्दै उक्त पुरस्कार सुरू गरिएको जनाकारी पनि उनले गराएका छन् ।

यता पुरस्कार दाता तथा प्रसिद्ध आख्यानकार विजय वान्तवा कैलासीले पनि २०२० देखि हालसम्म प्रकाशित किताबहरू पठाउन आह्वान गरेका छन् । उनले भने, ‘पुरस्कारलाई पारादर्शिता पूर्वक सञ्चालन गर्ने कोशिष आयोजक समितिको सधैँ रहनेछ । ५० हजार ठूलो राशि त होइन, तर साहित्यिक पुरस्कारलाई विवादमुक्त राखेर सही किताबको मूल्याङ्कन गर्नलाई हामीले यो पहल सुरू गरेका हौँ ।’

उनले अघिल्लो वर्ष धेरै उत्साहजनक लेखकहरूको पुस्तकको प्राप्त भएको बताए । यस्तै सहभागिता रहिरहे पुरस्कार राशि पनि बढाउन सक्ने घोषणा उनले गरेका छन् ।

अर्का कवि अरूणचन्द्र राईले पनि भारतभरिका लेखकहरूलाई किताब पठाइदिने अनुरोध गर्दै भने, ‘हाम्रो उद्देश्य पठन संस्कृतिलाई बढाउनु पनि हो । यसको निम्ति सही पुस्तकको मूल्याङ्कन हुन जरूरी छ । यसर्थ सबैलाई यस अभियानसँग जोडिने आह्वान हामी गर्दछौं ।’