April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बुझ्न नसकिएको ‘जनयुद्ध’

देवेन्द्र खापुङ सुर्केली
२०८० आश्विन ६

3.9K

पुस्तक समिक्षा

‘माओवादी जनयुद्ध केका लागि थियो ?’ आजकल मेरा मनमा उब्जिरहने प्रश्न हुन् यी । १० वर्षे जनयुद्ध कहालीलाग्दो थियो । हजारौ मानिस मारिए । हजारौं अङ्गभङ्ग छन् । परिवार गुमाउनुपर्दाको अवस्था होस् या सपनालाई तिलाञ्जली दिएर वैरङ्ग भएका पीडितहरू होस्, उनीहरूसँग जनयुद्धबारे प्रश्न राख्दा उत्तर आउँछ –‘खोई के का लागि शुरु भएको थियो, हामीलाई थाहा भएन ।’

केहीले भने, रहरले लाग्यौं । केहीले भने –गाउँका केही मानिसका कारण लाग्नैपर्ने अवस्था आयो । केहीले भने –प्रहरीले गरिखान दिएन, अनि लाग्यौं ।

जनयुद्धसँग आवद्ध धेरैको विचार बुझ्दा पाइने कुरा समान छन् । युद्धकालमा उनीहरूले मेक्सिम गोर्कीको आमा पढे, लि शिन तियनको चम्किलो रातो तारा पढे । ती पुस्तकहरूबाट क्रान्ति बुझे, क्रान्तिलाई संस्थागत ढङ्गमा लैजान प्रेरित बने । तर आफैँ क्रान्तिका पात्र बन्दै गर्दाचाही निराशाबाहेक केही पाएनन् ।

Advertisement

भर्खरै भानु बोखिमको उपन्यास ‘गोधूली गीत’ प्रकाशन भई बजारमा आएको छ । उपन्यासमाथिका केही टिप्पणीहरू अध्ययन गर्दा जनयुद्धसँग सम्बन्धित पात्रमाथि अध्ययन गरेर लेखिएको भन्ने बुझियो । यस पुस्तकमा पनि जनयुद्धबारे केही थाहा हुन्छ कि भन्ने आशा गरेर पढियो, तर निराशा नै हात लाग्यो ।

पुस्तक पढ्दा लागेको जिज्ञासालाई केही वुँदागतरूपमा टिप्पणी उठाएको छु ।

युद्धमा होमिनुको कारण प्रहरी ज्यादती !
जनयुद्धको आधारक्षेत्र मानिने रोल्पाकी ईश्वरी बुढामगरको आँखाबाट देखिएको जनयुद्धको सुरुवात, परिवारमा आइलागेको वज्रपात र आफ्ना सपनालाई थाँती राखेर युद्धमा सामेल भएको फेहरिस्तमा उपन्यासको निर्माण भएको छ । शिक्षित परिवार, छोरालाई सरकारी जागिरे र छोरीलाई नर्स बनाउने लक्ष्य लिएका शिक्षक धनबहादुरलाई माओवादीको आरोपमा प्रहरीहरूद्वारा मारिइन्छ । सदरमुकाममा पढिरहेको छोरा जीवनलाई परीक्षामा सामेल हुन नदिई केरकार गरिन्छ । त्यसपछि छोरा माओवादी बन्छ । आमा र बहिनीको इच्छाविपरित माओवादी बनेका जीवन मारिएको खबरपछि पढाईमा अब्बल रहेकी इश्वरी पनि माओवादी बन्छे । कमरेड निर्जला नामले जनयुद्धमा सामेल उनले विभिन्न जिम्मेवारी पाउँदै उनी पूर्वी नेपालको भोजपुरसम्म पुग्छिन् ।

जनआन्दोलनपश्चात शान्तिप्रक्रियामा आएको माओवादीका सिमित नेताहरू सत्तामा पुग्छन्, बाँकी यता न उताका भएका छन् । दाङको घोराहीलाई क्षेत्र बनाएर सक्रिय रहेकी इश्वरीलाई किन माओवादीमा लाग्नुभयो भन्ने प्रश्न राख्दा पक्कै पनि भन्नेछिन् –“प्रहरी ज्यादतीको कारण लागियो ।”

“के प्रहरी ज्यादती हो त माओवादी जनयुद्धको जग ?” भन्ने प्रश्नले फेरि हान्छ ।

हानेको प्रश्नको उत्तर आउँछ, –“प्रहरीले ज्यादती सुरू गर्नु माओवादीको जन्म हुनु हो ।”

“तर माओवादीको जन्म चाहीँ किन भयो त !” भन्दा आधिकांस योद्धाहरूसँग उत्तर छैन ।

नखोजिएको जीवनको लास र नलिइएको बदला
ईश्वरीको परिवारमा बुबा धनबहादुरबाहेकलाई विकल्पका चाङ नभएका होइनन् । धनबहादुर शिक्षक थिए । त्यसकारण कतै जाने कुरा भएन । देहरादुनमा रहेकी दिदी दिलसराले भाईबहिनीलाई उतै लगेर पढाउने बाराम्बार अनुरोध गरेकी छिन् । जीवनको आइए नसकिदै र इश्वरीले एसएलसी नदिदै पनि दिदीभेनाले देहरादुन लान खोजेको दृश्य उपन्यासका पानाहरूमा छर्लङ्गिएको छ ।

शिक्षक धनबहादुर मारिदा जति पीडा भएको थियो घरमा । त्यति पीडा जीवन मारिएको खबरले हुन्न । शायद आँशुलाई पचाउन जान्दैथिए इश्वरीको परिवारले । उपन्यास पढिरहँदा हरेक कोणले आदर्श छन् शिक्षक धनबहादुर । युद्धबाट हुने भय अगाडि नै व्यक्त गर्छन् । अनिष्टको संकेत पहिल्यै गरिसकेका हुन्छन् । तर पनि रातमा आउने पाहुनालाई बास दिन्छन् । लडिमरेको गोरुलाई माओवादीले खाँदा धनबहादुरलाई गौवधको आरोप लाग्छ । केरकार गरिन्छ । तारेखमा छोडिइन्छ । अनि माओवादीको सभामा ती आरोपको खण्डन गर्दा पक्राउ पर्छन् र बाटोमा मारिइन्छन् ।

निर्दोष बुबालाई मारिदिएपछि बद्ला लिनै भनेर छोरा जीवन माओवादीमा लाग्छ । तर छिट्टै सहादत प्राप्त गर्छ । त्यसपछि लागेकी ईश्वरीले न दाईको चिहान खोज्छे न युद्धको इतिहास नै । राती–राती बास दिइएका नेताहरू उपल्लो तहमा हुन्छन् । उनीहरूले धनबहादुर र जीवनको नामका कुनै पार्क बनाउँदैनन् । बटालियनको नाम दिइएको पाइन्न । बरु उनीहरूको मृत्युप्रयन्त पाइएको जनही १० लाख बैंकमा राखेर ब्याज भने खाइरहेका छन् ।

कारवाहीको फितलो कारण
छेवाङ आधार क्षेत्रको कमाण्डिङ गरेकी कमरेड निर्जला बालयोद्धा खड्गबहादुर पुन भागेपछि कारवाहीमा पर्छे । कारवाहीस्वरूप उनी भोजपुरको पिप्ले पुग्छिन् । त्यहाँ पनि श्रमशिविरमा राखिएका रामकुमारले छक्याएर भागेपछि फेरि कारवाहीमा पर्छिन् । त्यसपछि उनी पश्चिमाञ्चलको जलपुर सरुवा हुन्छिन् । गहिरिएर हेर्दा त्यहाँ निर्जलालाई कारवाही गर्नुपर्ने कारण हुन्न । तर त्यसरी छानविन हुन्न, निकै घनिभूत छलफल भएको जस्तो गरेपनि शंकाउपशंकाकै घेराभित्र हुन्छ ।

चामलको भात खान पाइन्छ भनेर युद्धमा होमिएको बालक खड्गबहादुर र साच्चिकै युद्धबाटै केही गर्छु भनेर लागेका कमरेड असिमलाई धनाढ्य, सरकारी जागिरेको आफन्त भनेर शंका गरिनु युद्धका कमजोर अस्त्र हुन् ।

फाइदाबिनाको युद्ध
ईश्वरीका स्कुले साथी छन् मनबहादुर विक र कुमार ओली । जति मेहनत गरेपनि हरेक वर्ष मनबहादुर नै प्रथम हुन्छ । ईश्वरी दोश्रो । बमको छर्रा लागेर मनबहादुर गम्भिर घाइते हुन्छ । काठमाडौँसम्म उपचारको लागि लगिन्छ । निको भएर फर्कन्छ, तर बोल्न नसक्ने भएर । पढेर शिक्षकसम्म बन्ने आकांक्षा पालेको मनबहादुरले ग्राउण्ड खाली गरिदिएपछि बिना किप्परको पोष्टमा ईश्वरीले गोल गर्छे ।

त्यसैबेलादेखि कुमारले माओवादी ठीक छैन भनिरहेको हुन्छ । गाउँमा केही हुनेखानेको परिवार भएकोले ऊ र उसको परिवारले माओवादी मन नपराउने भएको हो । जनयुद्धकै डरले कुमारको परिवार कपिलवस्तु बसाइँ सर्छन् । कुमारले कपिलवस्तुबाट ईश्वरीलाई चिठी लेखिरहन्छ । हरेक चिठीमा उसले माओवादी नबन्न, समर्थन नर्गन सुझाव दिइरहेको हुन्छ ।

माओवादीको विरुद्धमा जान उसले आइए सकेर सेकेण्ड लेफ्टिनेन्टमा भिड्ने तयारी गरेको जानकारी दिन्छ । ऊ भर्ति पनि हुन्छ, युद्धकै बिचमा उनीहरूको भेट हुन्छ । माओवादी मार्न हिडेको कुमारले आफ्नो साथी ईश्वरीलाई मार्न सक्दैन ।

मुलुकमा भएको शान्तिप्रक्रियापश्चात उनीहरूको भेटघाट हुन्छ, तर कुमारको खुट्टा युद्धले उडाएको हुन्छ । उनीहरूको त्यसबेलाको गन्थनबाट थाहा हुन्छ –युद्ध न जनताको पक्षबाट ठीक थियो न त राज्यको पक्षबाट ।

हुनैपर्नेलाई फलिफाप
मुख्य सहायक पात्र छिन् प्रेमकला । प्रहरीसँग विवाह गरेर सन्तान भएपछि श्रीमानबाट प्रताडित भएकी र आफूसँगै रहेकी ५ वर्षको छोरीको मृत्यु भएपछि अत्यन्तै वियोगमा रहेकी प्रेमकला माओवादी बन्छे । माओवादीमा लागेपछि उसले प्रगति गर्छे र शान्ति प्रक्रियामा आएपछि समानुपातिक सभासद् पनि बन्छे । उनी सांसद बन्दै गर्दा उनैले जनयुद्धमा ल्याएकी ईश्वरीलाई पनि फड्को मार्न सुझाव दिन्छे । दाउपेच नगरी अगाडि पुगिन्न भन्ने उनको ‘राजनीतिक थ्यौरी’ छ । समस्याग्रुत जीवन बाँचिरहेकोले जनयुद्धमा लाग्नु उनको विकल्प थियो, तर जनयुद्ध केका लागि थियो भन्ने कुरा उनले पनि उपन्यासमा राम्रोसँग भन्न सकिनन् ।

यद्यपि माइत छँदा आफ्ना भाउजु, बुहारीले हेप्ने प्रेमकलालाई नेतृत्वको उपल्लो तहमा पुर्याइदा भने सन्तोषको सास फेर्न सकिन्छ । अपमानित भएर बाँच्नुभन्दा लडेरै मर्छु भनेर लागेकी उनले युद्धको नेतृत्व गर्दै पाएको सफलतालाई सकरात्मक लिनुपर्छ । तर १० वर्षसम्म युद्ध लडेर हजारौं सहिदहरू बनाएको आन्दोलन सत्ताको भर्याङमात्रै थियो भन्ने प्रश्नले फेरि गिजोल्छ ।

अन्त्यमा,

लेखक सुदुरपूर्वी ताप्लेजुङको लिम्बू भएकोले हुनसक्छ, रोल्पाली आञ्चलिकता भने पस्किन पटक्कै सकेनन् । ‘गोधूली गीत’ शुद्ध नेपाली मानांक भाषामा लेखिएको छ । र, पत्रकारिता शैलीमा कथालाई टिपेकाले होला, प्रथम पुरुषबाट पात्रमा घुस्दा रोल्पाली मगर्नीको मनबाटै कथा भन्न चुकेका छन् ।

युद्ध सुरु हुँदै गरेको समयमा टमाटर पुस्तकमा मात्रै पुगेको थियो । गाउँमा त गोलभेडा नै थियो । तर उपन्यासभित्र टमाटर झिरमा उनेर पोल्दा उक्त समयमा तेह्रथुममा मैले पनि गोलभेडा त्यसरी पोलेको सम्झिएँ । टमाटर त लोकतन्त्रको अभ्युदयसँगै पहाड चढ्न थालेको हो । अहिले त पहाडमै टमाटरको खेती गर्न थालिएको छ । आदिवासी मगरहरूमा हिन्दुत्व प्रभाव ज्यादा परेकैले गोरु खाँदा अनौठो माने । तर लिम्बुवानमा भने अनौठो मानिएन ।

पुस्तक लेखिनुपर्छ, र फेरि पनि पुनर्लेखन हुनुपर्छ । दिन खोजिएको विचारलाई जीवित राखेर निर्मम सम्पादन पनि गर्नुपर्छ । सम्पादनको क्रममा निर्ममता नअपनाउँदा केही ठाउँमा अलमलमा पनि परिन्छ । जस्तो प्रेमकलाको कुरा गरिरहँदा एकपटक निर्मला पनि भनिन्छ । अनि कुनै ठाउँमा यस्तो शब्द पनि पाइएको छ –‘शनिबार भएकोले म विद्यालय गएको थिइनँ ।’ शनिबार त्यसै स्कुल गइन्न, सम्पादकले यस्ता कुरालाई बुझ्नुपथ्र्यो ।

यौवनवस्थामा जनयुद्धमा सामेल भएकाले ईश्वरी त्यतै व्यस्त छिन् । कुमार ओली उनको पछि लाग्नु, स्कुल जाँदा युवाहरूले जिस्क्याउनु यौवनवस्थाको प्रतिक हुन् । उनी आफैँलाई चाही कहिले असिमको त कहिले पासाङको छत्रछायाँमा हराउन लाग्नु उमेरको छनक हो । तर ३० वर्षसम्म विवाहतर्फ नडोरिएको उनको जीवनमा फेरि छुटेको पढाईलाई जोड्ने मनशाय पलाउनु केही गर्नुछ, गर्न सक्छु भन्नेतिर उद्देलित हुनु हो ।

सेकेण्ड लेफ्टिनेन्ट भएको कुमारसँग लडाइँको मार्चमा भेटिनुपनि थोरै अमिल्दो हो । कथामा टुइस्ट ल्याउन त्यसरी भेट गराउन पाठकको लागि खल्लोपन ल्याउनु हो । यद्यपि कुनै एक अमुक पात्रकै कथालाई उधिनिएको हुनसक्ने भएकोले ति पात्रसँग डोरिने यात्राबारे धेरै कैची लगाउँदा पनि बिग्रन्छ ।

गोधूली साँझहरूमा रेडियो सुन्ने ईश्वरीको बानी हुन्छ । रेडियोका अनिवार्य कार्यक्रमपश्चात आउने अनुरोध संगीत उनको विशेष रोजाईको कार्यक्रम हो । विभिन्न गायकहरूका गीतका स्थायीहरू टिपिएका छन् । रेडियो उपन्यासको विम्ब हो । जो ईश्वरीले सँधै सुन्थिन् । इश्वरी पनि युद्धमा लागेपछि आमाले सुन्न थालिन् । आमाको लागि रेडियो घरको साथी, पहरेदार सबै बन्यो । जसले बजिरहेपछि छोरीका मनपर्ने गीत गाउँथ्यो भने छोरीहरूको अवस्था कस्तो भनेर समाचार पनि भन्थ्यो । यी सबैको समग्रता नै गोधूली गीत हो । जो, तपाई हामी पाठकले गाउन सकेका छौं ।

०००