पोखरा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ।’
उनले आफूहरूमाथि जनताले राखेको आशा र भरोसाको तागत भएको र त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्ने बताए । ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’, उनले भने ।
यस्तै, देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन । देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।’
प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन भएको पनि उनले बताए । ‘यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।’, प्रधानमन्त्री प्रचण्डले भने ।