काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । आजको मन्त्रिपरिषदको बैठकबाट प्रतिखेलाडी ६ लाख र अफिसियल टोलीलाई जनही ३ लाख पुरस्कार दिने निर्णय गरेको हो ।
‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ ।’, प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालबाट जानकारी दिएका छन् ।
यस्तै, कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने पनि निर्णय भएको छ । ‘मन्त्रिपरिषदको यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’, प्रचण्डले भनेका छन् ।
मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको थियो ।