April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

डा. भीम रावलको अबको बाटो कता ? आत्मसमर्पण वा विद्रोह ?

राजेन्द्र कुँवर
२०८० बैशाख ४

2.1K

एमालेमा व्यक्तिवादी चिन्तन हाबी भएको भन्दै नेकपा (एमाले) को ९औं महाधिवेशनका फैसलालाई अस्वीकार गरी असन्तुष्ट बनेका डा. भीम रावलसँग वार्ता गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली चैत्र १८ गतेको सचिवालयको बैठकले गठन गरी काम गर्ने अख्तियारीसमेत दिएको थियो । वार्ता टोलीले करिब दुई हप्ता भन्दा एक दिन बढी गुजारेर वार्ता संवाद अगाडि बढाएको छ, यति लामो समय लगाएर डा. भीम रावलसँग कुरा गर्नु भनेको षड्यन्त्रको अर्को रूपमा हेर्ने गरिएको छ ।

काठमाडौँमा बसेर डा. भीम रावलसँग वार्ताको नाटक मञ्चन गरे पनि उनीसँग रहेका केन्द, प्रदेश जिल्ला र स्थानीय तहमा केही इमानदार नेता कार्यकर्तालाई फकाउन सकिन्छ कि भनेर यति लामो समय लिएको हो भनेर रावलसँग नजिक रहेकाहरु सशंकित भएका छन् ।

अहिले पनि डा. भीम रावलसँग नजिक भएका नेता कार्यकर्ताहरूले एमाले पङ्क्ति सजिलोसँग विश्वास गर्नु पर्ने वातावरण बनेको देखिदैन । अनेरास्ववियु, महिला संघ र युवा संघको राष्ट्रिय अधिवेशनमा उनी समर्थकले सामान्य प्रतिनिधित्व गर्ने बाहेक अन्य भूमिकामा आउनलाई रोकेको छ । नेता र कार्यकर्तालाई डा. भीम रावललाई एक्लो पार्ने योजना बनाउने कार्यमा एमालेको पंक्ति निकै मेहनत गरेर लागि रहेको सजिलोसँग बुझ्नलाई कसैलाई गाह्रो छैन ।

Advertisement

नीति, विधि र पद्धतिका हिसाबले एमाले च्युत भएर नौं महाधिवेशनमा पारित भएको राजनीतिक प्रतिवेदन, विधान कार्यनीति र कार्यक्रमको धज्जी उडाइ व्यक्तिवतदी चिन्तनबाट ग्रसित भएको ठम्याइमा पुगेर पार्टीभित्र वा बाहिर जनप्रतिनिधिको हैसियतले सडक हो वा सदनमा आफ्ना विचार राख्न कुनै कन्जुस्याइँ गरेका थिएन रावलले ।

राष्ट्र, राष्ट्रियता जनताका जनजीविकाका सवालमा उनले कुनैसँग अनुचित सम्झौता गरेनन् । त्यसै कारणले गर्दा डा. भीम रावल राष्ट्रिय राजनीतिको केन्द्र भागमा मात्रै होइन कम्युनिष्ट पार्टीको वैचारिक नेताको रूपमा आफ्नो पहिचान बनाउन सफल भए ।अहिले आएर डा. भीम रावल आफूले देश, जनता असल कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ताका सवालमा उठाएका मुद्दालाई थाती राखेर एमालेजनसँग सम्झौता गरेर आत्मसमर्पण गर्छन् वा विद्रोह हेर्न बाकी नै छ ।

अबको पछिल्लो समयमा डा. भीम रावललाई अलमल गर्ने कुनै छुट नभएको सजिलोसँग बुझिएको छ । विभिन्न वहाना वा दसबुँदे सहमतिका नाममा एमालेमा लागेमा उनको राजनीतिक कत्लेआम हुन्छ भनेर सुझाव नदिएको होइन तर त्यो सुझावलाई रावलले ग्रहण गरेन आखिर उनको अहिले राजनीति हत्या नै भएको छ ।

नेकपा एमालेको महाधिवेशनबाट पराजित अध्यक्षका उम्मेदवारलाई वरिष्ठ नेता बनाउने असल परम्परा भए पनि दशौं महाधिवेशनमा त्यसको धज्जी उडाउने काम मात्रै भएन डा. रावललाई लखेट्ने काम पनि भयो ।

नगर, निर्वाचन क्षेत्रीय कमिटीले डा. भीम रावललाई संघीय निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट सर्बसम्मत निर्णय गरे पनि त्यसलाई लत्याउदै उम्मेदवारीसमेत खोसेन, सुदुरपश्चिम र कर्णाली प्रदेशमा रावलको प्रभाव क्षेत्रमा गएर केपि ओलिले मंचबाट अपमानित हुने शब्द प्रयोग भएको तथ्य घाम जस्तै छ । अहिले फेरि उनै रावललाई एमालेलाई हराउन महत्त्वपूर्ण भूमिका खेलेको आरोप मात्रै होइन पार्टी अनुशासन बिपरित काम गरेको पनि कुरा जोडतोडले उठाउने गरेका छन् ।

नेपालका दुईवटा ठुलो कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको निर्माणदेखि नै पार्टी संचालनको निश्चित विधि पद्धति हुनुपर्छ भनेर खरो बहसमा उत्रेका भीम रावल पछिल्लो समयमा निकै ओझेलमा परेका छन् ।

सर्बोच्च अदालतको आदेशबाट नेकपाको विभाजनपछि बनेको एमाले पार्टीको भूमिका र सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारीबाट मुक्त गरी भूमिकावीहिन बनाइएको थियोे । त्यसअघि भीम रावल लगायतका दसजना माधवकुमार नेपाललाई विद्रोह गर्नुपर्छ भनेर उचाल्ने समुहका मुख्य पात्रमा पर्नुहुन्थ्यो । एमालेमा विद्रोह गर्नुपर्छ भनेर अन्तिम तयारी गरेको समयमा सहमतिको नाममा दसबुँदेलाई उल्लेख गरेर भीम रावल अन्तिममा आएर केपि ओलि समुहमा सहभागी बने ।

नेकपा एमालेमा फर्केका दस जनालाई ओलिले पुरानै २०७५ साल जेठ ३ गते अगाडिको भूमिका जिम्मेवारी दिए पनि कमरेड भीम रावलको हकमा ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भने झै भएको थियो । पछिल्लो सबै घटनाक्रमलाई नियालेर हेर्ने हो भने डा. भीम रावललाई पार्टीको काममा फर्काएर भूमिकासहितको जिम्मेवारी पार्टीले दिने कुरामा थुप्रै आशंका उब्जाएको छ ।

साच्चिकै अब एमाले डा. भीम रावलले भनेको जसरी रुपान्तरण भएको हो ? देवत्वकरणबाट मुक्त भएको हो ? लेनिनवादी संगठनात्मक सिद्धान्तबाट अगाडि बढेको हो ? जनवादी र केन्द्रियतालाई आत्मसात गरेको हो ? नेतृत्व प्रधान मान्न छोडेर नीति प्रधान मान्न थालेको हो ? गैरकम्युनिष्ट मित्रवत व्यबहार कम्युनिष्टलाई सत्रुतापूर्ण व्यबहार गर्ने नीति र नेतृत्वमा परिवर्तन भएको हो ? कुनै आग्रहपुर्बाग्रह नराखेर भीम रावल र उनको समुहलाई साच्चिकै जिम्मेवारी दिएर काममा लगाउन खोजेको हो ? वा डा. भीम रावलले आँखा चिम्लेर आत्मसमर्पण गर्ने हो ? यिनै शंक्काको घेरामा छ एमालेको बर्तमान नेतृत्व र भीम रावल ।