April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सिके राउतको ‘डरलाग्दो’ राजनीतिक खेलः पुराना नेतालाई विदाइ गर्ने रणनीति

1.8K

काठमाडौं । चन्द्रकान्त राउत (सिके)ले यसरी राजनीतिमा एक्कासी उचाइ लिन सक्लान भन्ने अपेक्षा थिएन । तर सिके राउत मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुमध्ये प्रभावशाली मध्येका एक भइसकेका छन् । विखण्डनकारी रणनीतिका कारण विवादमा आएको उनी एकाएक राजनीतिको निर्णायक अवस्थामा पुग्लान भन्ने लागेको थिएन । अस्वभाविक उनको उचाइले मधेश केन्द्रीत अन्य नेताहरुका लागि टाउको दुखाइ भएको छ ।

छोटो समयमै उनी नेतृत्वको पार्टी जनमत पार्टीले राष्ट्रिय मान्यता पाइसकेको छ । जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभामा ६ सिट छ। प्रत्यक्ष्यतर्फ उनी एक्लैले जिते पनि थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बनेपछि ५ जना समानुपातिक सांसद छन्। थ्रेसहोल्ड कटाएपछि उनको पार्टीले राष्ट्रिय मान्यता पाइसकेपछि राउतको उचाइ थप बढेको छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेर संसद् छिरेका सिके मधेस केन्द्रित दलभित्र निर्णायक शक्तिका रुपमा उभिएका छन् । पुराना दलहरुप्रति जनताको विश्वास घट्दै जानुको फाइदा सिकेले लिएका छन् । पहिलो पटकमै उनको पार्टीलाई जनताले राष्ट्रिय पार्टीको मान्यता दिलाएपछि सिके मधेसको मुख्य नेताको हैसियत कायम गर्ने लयमा देखिन्छ । उनको पछिल्लो गतिविधिले समेत यो कुरालाई पुष्टि गर्छ।

Advertisement

मधेस केन्द्रित दलको हिसाबमा जनमत पार्टी दोस्रो हो। संसद्मा १२ सिटसहित जसपा मधेसको पहिलो पार्टीको हैसियतमा छ। जनमत ६ सिटसहित दोस्रो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४ सिटसहित तेस्रो र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ३ सिटसहित मधेसको चौथो शक्तिका रूपमा प्रतिनिधिसभामा छन् ।

उनले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई आफ्नो प्रभावमा पारेर सत्ता गठबन्धनकै विरुद्धमा उभ्याउन भूमिका खेलेपछि सिकेको राजनीतिक चलाखीले थप चर्चा पाएको छ । सिकेले उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनकै विरुद्ध उपगठबन्धन बनाउन समेत ध्भ्याए । लोसपा, नाउपा र जनमतले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई मत नदिने भन्दै विज्ञप्ति नै जारी गरे । जनमतले उपराष्ट्रपतिमा आफ्नै पार्टीकी नेतृ ममता झालाई उठाएको थियो।

अन्त्यमा ३ दलले भोटसमेत झालाई नै हाले। यो सबै राउतको पहलमा सम्भव भएको थियो । तर, सिकेका यी गतिविधिसँग सत्ता साझेदार दल माओवादी केन्द्र र नेपाली कांग्रेस खुसी छैनन्। निर्वाचनमा अप्रत्यसित मतका साथ पराजित भएका यादव यतिबेला पार्टीभित्र समेत घेराबन्दीमा छन्। उनीसँग अहिले संघीय परिषद् अध्यक्ष अशोक राई असन्तुष्ट छन्। संसदीय दलको नेता बन्नबाट रोकेपछि यादवसँग राईको असन्तुष्टि सहतमै देखिएको छ। तर, जसपाका नेताहरू यादव र राईबीच सम्बन्ध नबिग्रिएको बताउँछन्। अर्कातिर उनलाई बाबुराम भट्टराईले समेत छाडेर गइसकेका छन् ।

भट्टराईले छाड्नु र निर्वाचनमा फराकिलो मतान्तरले पराजित हुँदा यादवलाई ठुलो चोट परेको छ । अब उपनिर्वाचनमा समेत सिकेले यादवलाई हराउने तयारी गरिरहेका छन् । यादवको कमजोरीमाथि प्रहार गर्ने उपयुक्त समय भएको राउतको बुझाइ छ । मतदातासँग टाढिँदै गएको यादवको सम्बन्ध, पार्टीभित्र समेत असन्तुष्टि बढिरहेको अवस्था, निर्वाचनमा पराजित भएको अवस्था, पार्टी विभाजनलगायत विषयले चेपुवामा परेका बेला प्रहार गर्दा मधेसको लिगेसी आफ्नो हातमा ल्याउन सकिने राउत कम्मर कसेर लागेका छन् । राउतको पार्टीले मधेश प्रदेशमा पनि मुख्यमन्त्रीको दावी गरिरहेको छ ।