काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी श्रीमतीको नाम हो–चम्पादेवी । सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा यादवसँगै चम्पादेवी पनि थिइन । तर उनको हाउभाउ र चेहरा निकै रोचक थियो । हतारो भएजस्तो र मन अतालिएको जस्तो उनको हाउभाउबाट स्पष्ट अनुमान लगाउन सकिन्थ्यो । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पा कलैयाको घर र गाइबस्तुप्रति चिन्तित थिइन ।
शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो । छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।
शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’ उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी’ चम्पाले राजधानी पत्रिकासँग भनेकी छन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’
उनको भनाइ थियो, छिमेकीलाई गाईको रेखदेख गर्ने जिम्मा दिएर म काठमाडौं आएको तीन दिन भयो । काठमाडौंमा मेरो काम छैन । अब घरै जान्छु ।उच्च तहको पदमा आफ्नो श्रीमान पुगेकोमा उनले खुसी व्यक्त गरिन् । आफूलाई पनि धेरै मान्छेले नमस्ते गर्दा आश्चर्य लागेको बताइन् ।
श्रीमानसँगै काठमाडौंमै बसेर सरकारी निवासको सुविधा उपभोग गर्नेतर्फ उनको कुनै मोह छैन । उपराष्ट्रपति निवासको त्यो भव्य र सुखसयल उनलाई फिक्का लाग्यो । उनले भव्य सरकारी निवासभन्दा आफ्नै सानो घर प्यारो हुने बताइन् । यसअघि पनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा रामसहाय वनमन्त्री भएका थिए । तर, उनी कहिल्यै सिंहदरबार वा मन्त्री निवासमा प्रवेश गरिनन् ।
विशिष्ट श्रेणीका व्यक्तित्व, उच्च तहका कर्मचारी, सेनालगायतकाबाट बधाई एवं सलामी लिइरहेकी चम्पा देवीको मन भने कलैयामै पुगेको थियो । चम्पादेवी कलैया ५ गोरुबजारस्थित आफ्नै घरगोठमा व्यस्त हुने गरेकी छन् । पुर्ख्यौली घर कचोर्वास्थित खेतका रुख विरुवा बिक्री गरी कलैया–५ गोरु बजार छेउमा १२ धुर जग्गा किनेपछि गाईभैंसी पालेर श्रीमानको राजनीति र सन्तानको पढाइ गराएको उनी बताउँछिन् ।
पति रामसहायप्रसाद उपराष्ट्रपति बनिसकेपछि भने काठमाडौं जानुपर्छ भनेर छिमेकीहरू भन्छन् । तर उनलाई उपराष्ट्रपतिको कार्यकाल सकिएपछि श्रीमान गाउँमै फर्किएर बस्छन् भन्ने लागेको छ । त्यसैले उनी गाउँमै बस्न रुचाउँछिन । रामसहाय राजनीतिमा सक्रिय हुन थालेपछि चम्पादेवी भने गाईबस्तु पालनमा सक्रिय बनिरहेकी छिन् । घरायसी जिम्मेवारी छाडेर काठमाडौं बस्न चम्पादेवीलाई खासै जरुरी लागेको छैन ।