काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार विश्वासको मत लिँदै उनले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।
बैठकमा उपस्थित २६२ सांसदहरुमध्ये विश्वासको प्रस्तावको १७२ पक्षमा र विपक्षमा ८९ मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । एमाले र राप्रपाले भने प्रचण्डलाई विश्वासको मत दिएनन् । राप्रपा र एमालेकै कारणले दोस्रो पटक प्रचण्डले दुई महिनापछि नै विश्वासको मत लिनु परेको हो ।
पुस १० गते तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले गत पुस २६ गते उनले २ सय ७५ कुल सदस्य सङ्ख्या रहेको संसदबाट उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ मत प्राप्त गरेका थिए । उनको विपक्षमा दुई मतमात्रै परेको थियो ।
प्रचण्डले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेकका सबै दलहरूले मतदान गरेका थिए। । त्यो बेला विपक्षमा रहेको नेपाली कांग्रेस सहितका दलहरुले पक्षमा मतदान गरेका थिए । त्यो नै अहिलेसम्मकै सर्वाधिक सफल विश्वासको मत थियो ।