काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चैतको पहिलो साता भित्रै विश्वासको मत लिने तयारी थालेका हुन् । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
महतका अनुसार चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा रहे पनि प्रधानमन्त्री स्वयंको निर्णयमा मिति तय हुनेछ । सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो । कांग्रेसले कति मन्त्रालय पाउने र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुंगिनसकेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी थालेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिले सम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए । राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ ।




