November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन ‘चलखेल’, गठबन्धन भत्काउन कसरत

२०७९ फाल्गुन ३०

2.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । यस सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेका छन्। राष्ट्रपतिको निर्वाचनपछि उनले यस्तो तयारी थालेका हुन् । सरकारको नेतृत्वबारे पनि बहस शुरु भएको छ ।

निर्वाचन आयोगले ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ। आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि ५ चैतसम्म आचारसंहिता लागू गरेको छ। प्रधानमन्त्री प्रचण्डले उक्त आचारसंहिता सकिएलगत्तै विश्वासको मत लिन र मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल सुरु गरेको स्रोतको भनाइ छ।

राष्ट्रपति निर्वाचनमा असन्तुष्ट भएपछि सरकारमा सहभागी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले सरकारबाट बाहिएपछि प्रचण्डले आन्तरिक तयारी थालेका छन् । यता, सरकारको नेतृत्व गरेको माओवादीले सरकार बाहिर रहेको नेपाली कांग्रेसका राष्ट्रपति उम्मेदवारलाई सहयोग गरेसँगै अब कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ । कांग्रेससहित मधेसवादी दलहरू सरकारमा सहभागी हुने देखिएको छ । उपराष्ट्रपति निर्वाचनमा मधेसका दलबीच विभाजन आएका कारण कुन–कुन दल सरकारमा सहभागी हुन्छन् भन्ने टुंगो भने लागेको छैन ।

Advertisement

सरकारबाट बाहिरिएको रास्वपालाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए। तर कतिपय विश्लेषकहरुले प्रधानमन्त्रीमा प्रचण्ड आफू रहन्छन् कि रहदैनन् भन्ने अनिश्चित छ ।

किनकि राष्ट्रपति निर्वाचनमा कांग्रेसले बाजी मारेसँगै माओवादी नेतृत्वको सरकार ढल्ने चर्चा हुन थालेको छ। कांग्रेस राष्ट्रपति निर्वाचनअघि माओवादी–एमालेको गठबन्धन भत्काउन लागेको थियो। राष्ट्रपति निर्वाचनलगत्तै संसद्को ठुलो दलको हैसियतमा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चा बाक्लो छ।

संविधानको धारा ७६ को ‘१’ मा संसद्को सबैभन्दा ठुलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। बजारमा भएको यही चर्चालाई बल पुग्ने गरी कांग्रेस नेता मीनेन्द्र रिजालले कांग्रेस र एमाले सहकार्य हुन सक्ने बताएका छन्। त्यस्तै आशय आउने गरी महामन्त्री गगन थापाले समेत ५ महिनामा सरकारको ‘पिक्चर क्लियर’ हुने बताएका छन् ।

राष्ट्रपति निर्वाचनमा एमाले–माओवादी गठबन्धन भत्काउन लागेको कांग्रेस उपराष्ट्रपति निर्वाचन नआउँदै प्रधानमन्त्री प्रचण्डसँग टाढिँदै जाने संकेत देखाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्रीको विश्वासको मत लिने विषयमा अनौपचारिक छलफल भए पनि आधिकारिक छलफल वा निर्णय नभएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । सरकारको विषयमा समग्रमा छलफल भइरहेकाले अहिले मन्त्रिपरिषद् पुनर्गठन पहिले कि विश्वासको मत पहिले भन्ने विषय छलफल नभएको महतले बताए । प्रधानमन्त्री प्रचण्ड भने पहिला विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने मुडमा रहेको बालुवाटार स्रोत बताउँछ ।