काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा भएको बस दुर्घटनामा बस चालकसहित १८ जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका मध्ये १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिना, बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ, बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङ रहेका छन् । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् ।
बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । अत्यधिक गतिमा बस गुडेको कारण दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको छ । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।दुर्घटनामा १६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।