November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यो निर्वाचनमा अग्रगमनलाई जिताउन एकताबद्ध भएर लाग्नु पर्नेछ : प्रचण्ड

२०७९ कार्तिक १७

2K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्ने बताए । प्रचण्डले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

विहीबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ । यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ ।’

यस्तै, नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्ने प्रचण्डको भनाइ थियो । ‘अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो ।’, प्रचण्डले भने । ‘यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन । त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ ।’, उनले थपे ।

Advertisement