November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

राजनीतिको ओरालो यात्रामा रवीन्द्र मिश्र-अन्ततः त्यागे विवेकशील साझा

2K

काठमाडौं । सक्रिय पत्रकारिताको जीवन त्यागेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रसँग आम नागरिकले ठूलो अपेक्षा गरेका छन् । बौद्धिक र तथ्यपरक तर्कशैली साथै इमान्दार पृष्ठभूमीका मिश्रले विवेकशील साझा पार्टीमा रहेर ठूलो राजनीतिक परिवर्तन ल्याउछन् भन्नेमा धेरैले अपेक्षा गरेका थिए । तर साझा पार्टीमा उनको प्रवेशसगै तिब्र ध्रुवीकरण भयो र मिश्रले पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

विवेकशील साझा पार्टीको जुन उद्देश्य र सिद्धान्तका साथ अघि बढेको थियो मिश्रको प्रवेशले त्यसलाई विस्तारै धुमिल बनाउँदै लग्यो । मिश्रले हिन्दूअधिराज्य र एकात्मक शासन व्यवस्थाप्रति आफ्नो झुकाव रहेको अभिव्यक्ति दिंदै राप्रपासँग नजिकिएपछि विवेकशीलका अन्य नेताहरु रुष्ट बन्दै गएका थिए ।

राजतन्त्रप्रति मिश्रको झुकावका कारण मिलन पाण्डे सहितको समूहले समानान्तर गतिविधि गनै बाध्य भयो । मिश्र असन्तुष्टको आवाज सम्बोधन गर्ने भन्दा पनि एकलौटी अघि बढ्दै गएपछि अन्ततः आफैं उक्त पार्टी त्यागको अवस्थामा पुगेका छन् । मिश्रले २०७२ को संविधानले सुनिश्चित गरेको व्यवस्था उल्ट्याउनुपर्ने वकालत मात्र गरेनन् राजतन्त्रप्रति जनविश्वास बढेको तर्क गर्दै संघीयता र धर्मनिरपेक्षता जस्ता संविधानको अन्तरवस्तुलाई ‘आयातित’ भन्न भ्याएका छन् । जुन जनआन्दोलको मर्म विपरित थियो भनेर चर्को आलोचना समेत हुन पुग्यो ।

Advertisement

राप्रपाका राजेन्द्र लिङ्देनलगायतका नेताहरुसँगको लगातार उठबसको अर्थ उनी राजा सहितको व्यवस्था खोजिरहेका छन् भन्ने प्रष्ट बुझ्न सकिन्छ । जसलाई अबको नेपालमा असम्भव सावित हुने निश्चित छ भनेर विश्लेषण भइरहेको छ । राजतन्त्रप्रतिको मिश्रले देखाएको झुकाव कहाँबाट पनि झल्किन्छ भने उनले हरेक सरकारी कार्यालयको भित्ता र नेपाली रुपैयाँमा समेत पृथ्वीनारायण शाहको तस्वीर राख्नुपर्ने माग अघि सारेका थिए । वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियानले राप्रपाको एजेण्डा बोक्न पुग्नु र तिनै पार्टीका नेताहरूसँग उठबस हुनुलाई विवेशील भित्रकै अर्को ठूलो समूह उनको गतिविधि विरुद्ध उभियो । जसका कारण मिश्रले पार्टी त्याग्न बाध्य भए ।

कुनै दिन विवेकशील दल खोलेर स्वच्छ राजनीतिमा आएका उज्वल थापालगायतको उद्देश्य र मर्म विपरित मिश्रका गतिविधिले पार्टीको स्प्रीटलाई पनि कमजोर बनाइसकेको छ । किनकी २०७४ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा साझा पार्टीले काठमाडौं र ललितपुरमा उम्मेदवारले ल्याएको मतलाई आंकलन गर्ने हो भने उक्त पार्टीप्रति आकर्षण ब्यापक भइसकेको थियो । २०६५ सालतिरै ‘नेपाल खुला छ’, ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ जस्ता नारा र सामाजिक विकृति विरुद्धको अभियानमा संलग्न युवाहरुको विवेकशील दलप्रति जुन झुकाव थियो मिश्रको प्रवेशपछि भने विस्तारै कमजोर बन्दै गएको थियो । किनकी मिश्रले साझा पार्टी स्थापना गर्दा राजासहितको व्यवस्थाको परिकल्पना गरेका थिएनन् । तर पछिल्ला बर्षहरुमा मिश्रले हिन्दू राज्य र राजतन्त्रप्रति मोह देखाउन थालेपछि विचलन शुरु भएको थियो । जसका कारण मिश्र पार्टीमा रहन सकेनन र राजीनामा बुझाउन बाध्य भए ।

कारण भनेको विवेकशील नेपाली दलमा बसेर राजनीतिक कार्यदिशा बदल्न खोज्ने अन्तिम प्रयास असफल हुनु हो । वैकल्पिक शक्तिलाई मिश्रले उल्टो दिशामा लगेको भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको पक्षमा रहेका बहुसंख्यक नेताहरु उनको विरुद्धमा देखिए । जसको फलस्वरुप निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले पार्टी अध्यक्ष समीक्ष बास्कोटासमक्ष राजीनामा दिएर बाहिरिनु परेको छ । मिश्र तत्कालीन साझा पार्टी (पछि विवेकशील साझा पार्टी) का संस्थापक अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो नतिजा नल्याएपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए ।

मिश्रको राजीनामा पत्र :

समिक्षा बास्कोटा
अध्यक्ष, विवेकशील साझा पार्टी
केन्द्रीय कार्यालय, वखुण्डोल
विषय : पार्टीको साधारण सदस्यबाट राजीनामा

आदरणीय अध्यक्षज्यू,
झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।

यो मेरालागि जीवनकै एउटा सबैभन्दा कठिनतम निर्णय हो। लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन। राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित हो। सो परिप्रेक्ष्यमा गत पाँच वर्षमा मैले यो देशका लागि जे अत्यावश्यक छ भन्ने सम्झिएँ, त्यो विश्वासलाई मार्नु उचित नहुने ठानेँ। मेरो मार्ग परिवर्तन र राजीनामा त्यसैको परिणाम हो।
नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्।

‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ। ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ। तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक(सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ(राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ। अर्थात् त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ। यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।

जो मेरो धारणासँग सहमत हुनुहुन्न र जसले मेरो मार्ग परिवर्तनबाट पीडा, अन्यौल र असहजता महसुस गर्नुभएको छ, म उहाँहरूको भावना बुझ्न सक्छु र उहाँहरूसँग हृदयदेखि क्षमायाचना गर्न चाहन्छु। वैचारिकरूपमा मसँग सहमत नहुने तिनै साथीहरूलाई अघि बढ्न सहज होस् भन्नकै लागि मैले यसबीच वैधानिक रूपमा पार्टी जोगाउनको लागि सकेको भूमिका निर्वाह गरेको हुँ। म मा आएको परिवर्तनका कारण हाम्रा दृष्टिकोणमा अन्तर रहे पनि र हामी फरक पार्टीमा भए पनि, तपाईँहरूप्रतिको मेरो भावना, स्नेह र सम्मानका कुनै कमी आउने छैन।

साझा र विवेकशील साझा पार्टीको निर्माणका क्रममा पार्टीभित्र र बाहिरबाट मलाई निश्वार्थ सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति मैले जति आभार प्रकट गरे पनि अपर्याप्त हुन्छ। म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने मैले पछिल्लो समयमा लिएका कठिन निर्णयहरू देशलाई नै शिरमा राखेर लिएको हुँ। मेरो निर्णयले परिणाम दिएन भने त्यो दोषको भागेदार अरू कोही नभएर म हुनेछु। परिणाम दियो भने, त्यसको सम्पूर्ण श्रेय शुभेच्छुक र सहयात्रीहरूमा जानेछ।

यसै अवसरमा, विश्वासिलो, बलियो र रूपान्तरणकारी नरम संवर्द्धनवादी शक्ति निर्माणका लागि समान सोच र आस्था भएका सबै व्यक्ति, समूह र पार्टीहरूलाई एकवद्ध हुन पनि म विनम्र आग्रह गर्न चाहन्छु।
रवीन्द्र मिश्र
सदस्य/निवर्तमान अध्यक्ष, विवेकशील साझा पार्टी
मितिः १० असोज २०७९