काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब लगभग ६९ दिन बाँकी छ तर सत्तारूढ दल गठबन्धन आबद्ध पाँच दलभित्र प्रतिनिधि र प्रदेशसभातर्फको सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । शीर्ष नेताहरु गठबन्धनको बैठकबाटै तर्किने र घुर्की लगाउने क्रमलाई निरन्तरता दिइरहेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार शीर्ष तहको बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने भनिए पनि गठबन्धनभित्रको एक घटक जसपा अध्यक्ष उपेन्द्र यादव बैठकमै गएनन् ।
सत्तारूढ गठबन्धनले गत २० साउनमा सिट बाँडफाँट मोडालिटी र संख्या टुंगो लगाउन भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा बनाएको कार्यदलले असहमतिकै प्रतिवेदन शीर्ष तहमा बुझाइसकेको छ । निर्वाचन क्षेत्रअनुसारको सहमति खोज्नेगरी अन्तिम म्यान्डेट दिए पनि कार्यदलले निर्वाचन क्षेत्र र सिट संख्या तथा मोडालिटी आँकडा बनाउन नसकेपछि अपुरो प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको थियो ।
गठबन्धनको पछिल्ला बैठकमा पनि कार्यदलमा जस्तै पाँचै दलले प्रतिनिधिसभातर्फको सिटमा बढी ‘बार्गोनिङ’ गर्दै आइरहेका छन् । नेपाली कांग्रेसले पहिले १ सय सिटमा दाबी गरे पनि अहिले ८५ देखि ९० सिट दाबी पेस गर्दै आएको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले ६० सिटमा दाबी गरे पनि अहिले ४० देखि ४५ सिटको आँकडा बनाउँदै आएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीले पनि ३५ भन्दा बढी सिटमा दाबी गरिरहेको छ भने जसपाको ३२ सिटमा आफ्नै अडान छ । राष्ट्रिय जनमोर्चाले भने दुई सिटमा दाबी गरिरहेको छ ।
गठबन्धनभित्र शीर्ष तहमा कांग्रेसलाई ८५, लोकतान्त्रिक समाजवादी पार्टीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई दुई सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको छ । सो खाकामा जसपा अध्यक्ष यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालको असहमति रहँदै आएको छ ।
यद्यपी, सिट बाँडफाँटमा कुरा नमिलेको बताइएपछि नेताहरुको बेग्लै स्वार्थ रहेको विश्लेषकहरुले बताउने गरेका छन् । शीर्ष नेताहरु विशेषगरी आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने र निर्वाचनपछि बन्ने सरकारमा आफ्नो भाग खोज्न केन्द्रीत भएको बुझिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख उपप्रमुख, प्रदेशका मुख्यमन्त्रीलगायतका प्रमुख पदहरु अहिले नै टुंगो लगाएर जानुपर्नेमा शीर्ष नेताहरु देखिएका छन् । नेकपा(एकीकृत समाजवाद)का सम्मानित नेता झलनाथ खनाल आफूलाई राष्ट्रपतिमा देख्न चाहेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूलाई निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने तीब्र इच्छा देखाएका छन् ।
तर, कांग्रेस सभापति शेर बहादुर देउवा पुनः प्रधानमन्त्री दोहोर्याउने अडानमा छन् भने रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । उनी जीवनको उत्तार्धमा प्रधानमन्त्री बनेर मर्ने इच्छा सार्वजनिक रुपमै व्यक्त गरे पनि उनको इच्छा राष्ट्रपति बन्नेमा छन् । कांग्रेस महामन्त्री गगन थापा आफू प्रधानमन्त्रीका लागि योग्य भएको दाबी गरिरहेका छन् । सबै विषयमा प्याकेजमै सहमति गर्नुपर्ने धारणा राख्दै आएका शीर्ष नेताहरुमा पदीय लाभको तिब्र आकांक्षाले सहमति जुट्न नसकेको विश्लेषण गरिएको छ ।