November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रोहिणी बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

1.8K

काठमाडौं । रुपन्देहीको रोहिणीमा भउको बस दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको थियो । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर भएको दुर्घटनामा बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement

सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।