काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । अब रविन थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।
एनआएरनएको १०औं महाधिवेशनमा अध्यक्ष कुमार पन्त राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित भएको हो ।
शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्षमण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
काठमाडौंमा जारी अधिवेशनलाई सम्बोधन गर्दै एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको बतएका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ ।
उनले भने, ‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं, मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’
दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।