November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्ला दुई वर्षमा भ्रष्टाचार निकै घट्यो: प्रधानमन्त्री ओली

2.8K

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो  वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन्।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको जनाए।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए। ‘वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ। देशको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको छ।’

Advertisement

सन्देशमा लेखिएको छ, ‘ठूला विकास आयोजनाहरुको काम अघि बढेको छ। मुलुकको मुहार फेर्ने ‘गेम चेन्जर प्रोजेक्ट’हरुको काम अघि बढेकै छ। सामाजिक सेवा क्षेत्रमा देखिएका विकृति, असङ्गति र समस्याको निराकरण गर्दै सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लगिएको छ। नवीनतम् सूचना प्रविधि उपयोग गर्दै आम नागरिकलाई सेवा दिने अग्रभागका निकायमा अनलाइन सेवा शुरु गरिएको छ। प्रायः सबैजसो स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब आठ हजार उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनैपर्ने पनि उल्लेख गरेका छन्‌।​

‘भष्टाचार हुनै नदिनु हाम्रो प्राथमिकता हो। यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक छ। हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु त्यत्तिकै आवश्यक छ। सामाजिक सुशासनले व्यावसायिक एवं राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्दछ, सार्वजनिक संस्थाहरुको सुढृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धताजस्ता कुरा भ्रष्टाचार नियन्त्रणका निरोधात्मक उपायहरु हुन्,’ सो सन्देशमा लेखिएको छ।