काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा भोलि बिहान सर्वदलीय बैठक बस्ने भएको छ। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोलि (मंगलबार) बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो। ‘बैठकको मिति र समय तय भएको छ’, थापाले भने, ‘समसामयिक राजनीतिक विषयमा बैठकमा कुरा हुनेछ।’
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि बैठकको पुष्टि गरेका छन्। ‘सर्वदलीय बैठकबारे धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो’, रिमालले भने, ‘बैठकका लागि प्रधानमन्त्रीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहितसँग आवश्यक परामर्श गरिरहनु भएको छ।’
प्रधानमन्त्रीको सचिवालयले बैठकको विषयबारेमा केही जानकारी दिएको छै। केवल समसामयिक राजनीतिक विषय मात्रै भनेको छ। बैठकका लागि प्रधानमन्त्री अहिले परामर्शमै रहेका रिमालले जानकारी दिएका छन्।