May 9, 2025, Friday
२०८२ बैशाख २६
1:37:26 pm

सर्वोच्चद्धारा अध्यादेशबाट संवैधानिक निकायमा गरिएको सिफारिसविरुद्धको लिखित जवाफ माग

2.2K

काठमाडौं- विभिन्नसंवैधानिक निकायमा भएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले विपक्षीहरूसँग लिखित जवाफ मागेकाे छ। बुधबार न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोक्ने आदेश गरेको छ।

१७ गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ। रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा साेही दिन छलफल हुने आदेशमा उल्लेख छ।

हालैमात्र दोस्रोपटक अध्यादेश जारी गर्दै सरकारले विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो।  पटक-पटक गैरसंवैधानिक रुपमा जारी भएको अध्यादेशबाट नियुक्ति गरेको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए।

Advertisement

उक्त रिटको पहिलो सुनवाइ गर्दै सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक परिषद् र अन्य विपक्षीसँग जवाफ माग गरेको छ।

संवैधानिक परिषद् सम्बन्धी विवादमा यो आठौं रिट हो। यसअघि सभामुख अग्नि सापकोटासहितका सात थान निवेदन सर्वोच्चमा विचाराधीन छन्।

मंसिर ३० गते जारी भएको अध्यादेश संसद्‌मा पेश गर्न असफल भएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।