धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण हिजोबाट सुरु भएको छ ।
बराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा ७ विद्यालयका ११ प्रतिनिधि बाल कविहरू बिच भएको सो कार्यक्रममा जनता माध्यमिक विद्यालय बराहक्षेत्र–३ कि सीमा मादेन प्रथम र मुनबिम एकेडेमी, बराहक्षेत्र –५ कि अंशु वास्तोला द्वितीय बन्दै फाइनल राउण्डमा प्रवेश गरेका छन् भने भरौल बाल मन्दिर बराहक्षेत्र –३, नडाहाकि युविशा तेस्रो बन्न सफल भइन् । पुरस्कृत बाल कविहरूलाई प्रमुख अतिथि , विशिष्ट अतिथि लगायत पुरस्कार मेडल तथा प्रवेश कार्ड प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा कविहरू युवराज भट्टराई र सविता फागो छन् भने अतिथि निर्णायक दुर्गा बस्नेत रहेका थिए । कवि नदी मिसामले अतिथि कविका रुपमा आफ्ना २ वटा कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीले किन र के का लागि लेख्ने शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग सदस्य रामप्रसाद खरेलले विद्यार्थीहरूले आफू सिर्जनशील हुन, आफ्ना मनका भावनाहरू पोख्न विद्यार्थीहरूले लेख्नुपर्ने बताए । उनले थपे, “हामी जब लेख्न थाल्छौँ तब हाम्रो सिकाइमा पनि निखारता आउँछ । स्मरण शक्ति समेत बढ्छ भने लेखनले ज्ञानको भण्डार समेत बढ्ने भएकाले विद्यार्थीले लेख्नु पर्दछ ।”
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग सदस्य हेनसेन याख्खाले स्कुलमा कविता अब नयाँ सर्जकहरू उत्पादन गर्ने सबैभन्दा उत्कृष्ट मञ्च भएको बताइन् । कार्यक्रममा पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चौलागाईं, मुनविम एकेडमीका प्रिन्सिपल देवेन्द्र विष्ट, प्याब्सन बराहक्षेत्रका सचिव अबियोग राईले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै बराहक्षेत्र नगरपालिका वार्ड नम्बर–३ का वडाअध्यक्ष रोहित काफ्लेले स्कुलमा कविताले यति छिटै यो उचाइ प्राप्त गर्ला भन्ने आफुहरूले कहिले नसोचेको बताए । बराहक्षेत्रको साहित्याकासमा अग्रणी भूमिका खेल्ने स्वर्णिमले आयोजना गरिरहेको स्कुलमा कविता कार्यक्रमले यति चाडै यो उचाइ प्राप्त गरेकोमा बधाई छ । स्वर्णिमको यो कृयाशीलताको म सम्मान गर्छु । उनले भने, “तपाईंहरूको यो सराहनीय कार्यको उच्च मुल्यांकन गर्दै आगामी सालको वडाको कार्ययोजनामा रातो किताबमा स्वर्णिम साहित्य समाजलाई समावेश गर्नेछु । साथै बराहक्षेत्र प्रज्ञा प्रतिष्ठान हाम्रै कार्यकालमा स्थापना गरिछाड्ने छौँ ।”
वराहक्षेत्रका साविक ५ गाविसका मा.वि.स्तरीय प्रतिनिधि विद्यार्थीले रियालिटी शो ‘स्कुलमा कविता’ मा सहभागिता जनाउने छन् । ती मध्येबाट उत्कृष्ट १ ले प्याब्सन बराहक्षेत्र स्कुलमा कविताको उपाधि जित्ने छन् । विजेताले नगद १० हजार, मेडल प्रमाण पत्र र एक झोला किताब प्राप्त गर्नेछन् । यस्तै, द्वितीय हुनेले नगद ५ हजार, तृतीय हुनेले नगद ३ हजार र सान्त्वना हुनेले नगद २ हजारका साथमा समान प्रमाणपत्र, मेडलका साथमा एक झोला प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई सहसचिव शारदा निरौला शारुले सहजीकरण गरेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष समाजका सभाध्यक्ष शरणकुमार रहेका थिए सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण कटुवालले राखेका थिए ।
स्वर्णिम साहित्य सम्मान तथा पुरस्कार अक्षयकोषमा एभेङ परिवारको १ लाख ११ हजार
यसै अवसरमा दिवंगत चीरन एभेङ लिम्बुको सम्झनामा उनको परिवारले स्वर्णिम सम्मान तथा पुरस्कार अक्षय कोषलाई १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । स्वर्गीय चिरण एभेङ लिम्बुको बुबा सलबहादुर एभेङ लिम्बुले उक्त रकम अक्षयकोषका प्रमुख कवि प्रकाश दिप्साली राईलाई हस्तान्तरण गरे । आफ्नो कुरा राख्दै बुबा सलबहादुर एभेङ्ले आफ्नो छोरालाई सधै सम्झिरहने आधार स्वरुप यो रकम हामीले सहयोग गरेको बताए ।