January 25, 2026, Sunday
२०८२ माघ १२
1:37:26 pm

झापा ५: एजेन्डा कि सत्ताको भर्‍याङ

सुजता लिम्बु
२०८२ माघ ११

1.5K

विराटनगर । कोशी प्रदेश अन्य प्रदेशभन्दा आन्दोलनको इतिहासका हिसाबले फरक अर्थ राख्दछ । यहाँको राजनीति प्रशासनिक सीमाङ्कनको विषय मात्र कहिल्यै रहेन यो पहिचान, आत्मनिर्णय र राज्यसँगको सम्बन्धको निरन्तर संघर्षको भूगोल हो ।

मुकुम्लुङ आन्दोलन, प्रदेश नामाकरण विवाद, आदिवासी–जनजाति अधिकार र लिम्बुवान स्वायत्तताको बहस यी सबै विषय यहाँका जनताको आत्मसम्मान, अस्तित्व र न्यायसँग गाँसिएका छन् । दशकौँदेखि थिचिएको र विभेदको चपेटमा परेको भाषिक तथा पहिचानको आन्दोलन यहाँ अझै रापकै रूपमा बाँकी छ । सतहमा शान्त देखिए पनि भित्री तहमा असन्तुष्टि र न्यायको खोजी जीवित छ । त्यसैले यहाँको चुनाव केवल विकासका योजना र पूर्वाधार निर्माणको प्रश्न होइन, ऐतिहासिक स्मृति र राजनीतिक संवेदनशीलताको परीक्षा पनि हो ।

mostbet

झापा–५ को चुनावी माहोलमा अहिले देखिएको मुख्य चिन्ता यही हो । आन्दोलनका एजेन्डा प्रतिबद्धताको आधार बनेका छन्, कि राजनीतिक उकालो चढ्ने भर्‍याङ । आन्दोलनका मुद्दा जनताको जीवनसँग जोडिएका हुन्छन् तर नेताको राजनीतिक यात्रासँग निरन्तर रूपमा जोडिँदैनन्, त्यहाँ विश्वसनीयता कमजोर हुन्छ । भाषणमा आन्दोलन देखिन्छ, व्यवहारमा अनुपस्थित ।

Advertisement

हिजो प्रदेश संरचनाप्रति अस्वीकारात्मक संकेत दिने, प्रदेश निर्वाचन नै बहिष्कार गर्ने र संघीय संरचनामाथि प्रश्न उठाउने नेताहरू आज प्रदेश बलियो बनाउनुपर्छ भन्ने भाषणमा देखिन थालेका छन् । यसले मतदातामा प्रश्न उठाएको छ, वैचारिक विकास हो कि राजनीतिक सुविधा ?

केपी ओलीका राजनीतिक कमीकमजोरीहरू कम थुप्रै छन् । चिन्तनमा जडता, आलोचना नसुन्ने प्रवृत्ति र शक्ति केन्द्रित शैलीबारे प्रश्न उठिरहेका छन् । तर उनले देशका ठूला राजनीतिक मोडहरूको साक्षी र सहभागी दुवैको भूमिका निभाएका छन् भन्ने तथ्य पनि वास्तविक छ ।

मतदाताको मूल्याङ्कनमा द्वन्द्व देखिन्छ अनुभव र स्थिरता रोज्ने कि संवेदनशीलता र नयाँ दृष्टिकोण ? किनभने हिजो प्रदेश निर्वाचन बहिष्कार गरेका बालेन्द्र शाह (बालेन) अहिले प्रदेश सुदृढीकरणको पक्षमा भाषण गरिरहेका छन् । उनको शैलीले दर्शाउँछ उग्रता, व्यक्तिगत हतारो पुरानालाई चुनौती दिनु । तर यस्ता अचानक परिवर्तनले वैचारिक स्थायित्वप्रति प्रश्न उठाउँछ ।

त्यसो त संगठन र वैचारिक दृष्टिले नयाँ अनुहार रञ्जित तामाङ पनि चुनावमा उठेको बहसको हिस्सा बनेका छन् । उनका पक्षधरहरू तर्क गर्छन्, पुराना शक्ति केन्द्र र बालेन ओलीबीचको ध्रुवीकरण तोड्न वैकल्पिक, स्पष्ट नेतृत्व आवश्यक छ । तर प्रश्न यथावत् छ, बालेन र ओली मुख्य प्रतिस्पर्धी ठानिएको अवस्थामा रञ्जित तामाङको जीत कति सम्भव छ ?

धेरैले संगठनात्मक कमजोरी, जमिनस्तरको पहुँचको अभाव र अनुभवको कमीलाई मुख्य चुनौतीका रूपमा औंल्याउँछन् । यसको अर्थ, उनको उम्मेदवारी सम्भावनाभन्दा बढी संघर्षशील विकल्पका रूपमा देखिएको छ ।

सामाजिक सञ्जालको मनोदशा
सामाजिक सञ्जालमा मतदाताको द्विविधा प्रस्ट देखिन्छ । यो पटक बालेनले हार्नुपर्छ, किनभने उनी केपी ओलीभन्दा खराब देखिन्छन् । ओलीमा अनुभव र राजनीतिक लिगेसी छ, प्रणालीलाई तहसनहस हुन दिँदैन । बालेनमा उग्रता र हतारो देखिन्छ । तर विकल्प को त ? भन्ने बहसको विषय पनि समाजिक सञ्जालमा चुलिन थालेको छ ।

यो संवाद मतदाताको मनोदशा र विकल्पको सीमितता झल्काउँछ ।
जब मतदाताले स्पष्ट दृष्टिकोण र ऐतिहासिक न्यायप्रतिको प्रतिबद्धता भएको विकल्प देख्दैनन्, त्यहाँ लोकतन्त्र सबैभन्दा राम्रो होइन, सबैभन्दा कम जोखिम रोज्ने प्रक्रियामा सीमित हुन्छ । तर कोशी प्रदेशमा यो प्रवृत्ति खतरनाक छ, किनभने यहाँका मुद्दा बजेट र पूर्वाधारभन्दा गहिरा पहिचान, प्रतिनिधित्व र न्यायसँग जोडिएका छन् ।

झापा–५ को चुनावले दिने सन्देश केवल कसले जित्यो भन्नेमा सीमित हुँदैन । मुख्य प्रश्न यही हो आन्दोलनका एजेन्डा भविष्यको नीतिनिर्माणको आधार बन्छन्, कि फेरि सत्तासम्म पुग्ने भर्‍याङ मात्र ?
यदि एजेन्डा पुनः राजनीतिक साधनमा सीमित भयो भने हार उम्मेदवारको मात्र होइन, पूर्व नेपालको राजनीतिक विश्वास, स्मृति र चेतनाको हार हुनेछ ।