‘सेम्यो री’को सारांश ‘सेम्यो री’ कविता बाटै सुरू गरौं–
“जीवन आखिर सेम्यो री पो रहेछ
रहस्यको डल्लो
खुसी–पीडा सबैसबैको
चोया कातेर खिपीखिपी बुनिएको
मानिसको हृदयमा तरङ्ग आउँदा
आश्वस्त पार्न छातीमा पिङ खेलिरहन्छ
विरह चल्दा
कानको झुम्का भएर
आनन्दको हावामा फिरिरी–फिरिरी हल्लिरहन्छ ।”
सेम्यो री कविताको अघिल्लो खण्ड हो यो । र, संग्रहको यो अन्तिम कविता पनि । यसैबाट कविता संग्रहको नामकरण गरिएको छ ।
जीन्दगी साँच्चै सेम्यो री जस्तै रहस्यमयी ढङ्गबाट निर्मित र जीवित छ । यसको प्रारम्भ र अन्त्यको निधो कतै र कसैले गर्न सक्दैन । कसैले निधो गरे पनि पत्याउनेहरू फरक–फरक ढङ्गबाट पत्याउँ छन् ! नपत्याउनेहरू पनि फरक–फरक कोणतिर फर्केका हुन्छन् । र, जीवनको डल्लो सेम्यो री जस्तै वा बन्छ झनै रहस्यामयी । संग्रहको नामबाट लिइने सार लगभग यति नै हो ।
अन्जना इछमफूलका कविताहरू यही रहस्यामयी डल्लोको वरिपरीबाट अवतरित छन् । इछमफूलका अन्तरदृष्टिले जीवनमात्रै सेम्यो री देख्दैनन्, मानिसका सोच बिचार र मानिसले गर्ने कर्महरू उस्तै सेम्यो री युक्त छन् । तर, असल भन्दा खराब पक्षमा ।
मानिसले जे गरिरहेका छन् त्यो सही गरिरहेको देख्दैनन् कवि । मानिसले जिम्मा लिएका जात, धर्म, भाषा, संस्कृति, राष्ट्र, राजनीति, समाज, सेवा, व्यापार व्यवसाय पापयुक्त देख्छिन् । ती सबै दलदलमा डुबेको पाउँछिन् । मानिसको वर्तमान फस्नु भनेको भविष्यको जग बिग्रनु पनि त हो । तर कति र कुन हदसम्म भन्ने कुराहरू पनि सेम्यो री जस्तै नै छ । सेम्यो री मानिसबाट निर्मित एउटा भौतिक वस्तु हो, जसलाई खुस्काएर हेर्न सकिन्छ तर जीवन सम्बन्धिका सेम्यो रीहरू त्यसो गर्न सम्भव छैन । यसकारण भावाभिव्यक्तिका लागि सेम्यो री प्रतिकात्मक रुप मात्र हो ।
इछमफूलका कविताहरू यही गञ्जागोल भित्रका अनुभूतीहरू हुन् । त्यसबाहेक वाल्यकालका बाबुका प्रेमदेखि शोकसम्म, वाल्यकालदेखि जीवनका चरणवद्ध उमेरले बटुलेका सुख र दुःखका भोगाई र देखाइहरू । लामो समय आमाले बिताउनुपरेको एकल जीवनको पीडानुभूति । ससाना भाइबहिनीहरूसँगका सम्बन्ध र साटिएका जीवन यात्रा । प्रेम, धोका, दाम्पात्य जीवन र आफू पनि आमा बनेका कल्पना हो, या यथार्थ आफै विधवा बनेकी (विषयको जानकारी नभएको) पीडानुभूती लगायत साँस्कृतिक चेतको सटिक रूप नै सेम्यो री हो ।

उनका कविताहरू जातीय विभेदमा परेका नवराज बिकहरूको हत्यामा भेरी भएर गर्जेका छन् । दुःखहरूमा आँसुको वाइन र आफ्नै मुटु र कलेजोको टुक्रा सितन सम्झेर हरेकदिन साँचेर खाने गरेका छन् । कोसीहरूलाई बग्न सिकाउँछन् । कवि चेतनाले जीवन उठाउन बिर्सेको बिस्कुन जस्तै देख्छन् । जो सबै कुराले उबारेको मात्र रहने गरेझैं रोग, भोक, शोक बाहेक जे छ सबैले कुल्चेर गएको र बाँकी रहेको नै जीवन देख्छन् कवि । यो भोगाइको कवितात्मक भावाभिव्यक्ति नै यस संग्रहको सवभन्दा प्रवल शक्ति लाग्यो मलाई । धेरैले भोगेका होलान् तर त्यसलाई महसुस गरेर व्यक्त गर्नु नै कवि इछमफूलको उच्च विशेषता हो भन्ने महसुस हुन्छ ।
उनका कविताहरू जम्मा–जम्मी ४३ थान छन् । कविता छोटा र सुन्दर छन् । बिम्बहरू आकर्षक ढंगबाट निर्माण गरिएको लाग्दछ । आफ्नो महसुसमा कविताका अन्त्य भन्दा प्रारम्भ गुरुत्वशाली जस्तो भान हुन्छ । काव्यात्मक चेतको गहिराई नभएकोले थप डुबुल्कि मार्न सक्ने अवस्था रहेन ।
कवि इछमफूलसँग चिनजान भएको केही वर्ष मात्र भएको छ । मैले चिनेको चाहीँ उनी एक अत्यन्त व्यस्त व्यवसायी मात्र हुन् । उनकै कविता किनेर लैजाँदासम्म संग्रह उनकै हो भन्नेसम्म ख्याल गरिएन । किनभने उनले कविता लेख्ने गरेको शंकै भएन । यस्तो व्यस्त जीवनबाट पनि कविता जन्माउने कवि साँच्चैकी कवि हुन् । बिचार अभिव्यक्त गर्न व्यस्तताले नरोक्दो रहेछ भन्ने उदाहरणीय नजिर इछमफूल नै हुन् मेरा लागि ।
कोशेली ढाका नामबाट चिनीने उनको कोटेश्वरको व्यवसाय आफै पनि एउटा साँस्कृतिक संग्रहालयभन्दा कम लाग्दैन । यसबाट छड्के चेक गर्दा पनि आफ्नो सँस्कृतिप्रति उनको झुकाव निक्कै गहिरो छ । जीवन भोगाइ र यही झुकाव नै सेम्यो रीको स्रोत बनेको स्पष्टै छ ।
भावनाका धनी हुनु भनेको जीवनलाई हेर्ने दुर्विनको लेन्स फराकिलो र तेजिलो हुनु जस्तो लाग्छ । जब फराकिलै क्यानभास देखिएपछि बिचार अनुसारकै कर्म गरिनेरहेछ क्यार ! बिचार, वचन र कार्य फरक पर्यो भने अर्थ के रहला लेख्नुको ? इछमफूलमा यि तीनको संयोजनसम्म मिलेको होला जस्तो महसुस हुन्छ ।
लेखन उत्साहकै उद्देश्य राखेर लेखिएको हो । तर, क्षमता सीमितताको कारणले कतै त्रुटिहरू रहेको भए क्षमा याचना गर्छु । जिन्दगी भवसागरमाथि छ, अर्थात दुःको सागरमाथि छ । यही सागरमाथि तैरिन सक्नेहरूले नै जीवनलाई सुनौला अक्षरहरूले सजाउन सक्ने रहेछ । जो अनन्त बाँचिरहन्छ । अन्जना इछमफूललाई सृजनाका माध्यमहरूबाट जीवनका दुःखहरूलाई सुनौला अक्षरहरूमा कुँदेर अमर बनुन् भन्ने शुभकामना छ ।