January 25, 2026, Sunday
२०८२ माघ १२
1:37:26 pm

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’ लोकार्पित

605

काठमाडौं । साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’ तथा ‘नशा नशामा’ गीतको लोकार्पण गरेको छ ।

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थ र ‘नशा नशामा’ गीतका लेखक नरेन्द्रबहादुर श्रेष्ठ छन् । ‘नशा नशामा’ गीतमा स्वर÷संगीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको रहेको छ ।

mostbet

संघले हिजो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा दुबै कृतिहरू र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायत मन्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।

Advertisement

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’को समीक्षा गरेका थिए भने अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थको समीक्षा गरेका थिए ।

यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा प्रशंसा गर्दै लोकार्पित दुई कृतिमा एउटा विशुद्ध साहित्यिक भएको र अर्को ऐतिहासिक अभिलेख भएको बताउँदै जुद्धबहादुर श्रेष्ठ भनेपछि उद्योग र उद्योग भनेपछि जुद्धबहादुर श्रेष्ठ भनेर चिनिने बताएका थिए ।

यसैगरी वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले पूर्णबहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू कृतिबारे आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा पूर्णबहादुर श्रेष्ठ व्यथित नाम कतै उल्लेख नभएको प्रसङ्गमा नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो बुबाद्वारा रचित रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याइदिएकोमा धन्यवाद दिएका थिए । उनले बुबाको बिंडो थाम्न नरेन्द्रबहादुर श्रेष्ठ सफल रहेको कुरा पनि उल्लेख गरे । नेपाली साहित्यका प्रख्यात व्यक्तित्व पूर्णबहादुर श्रेष्ठको उपनामबाट प्रेरित भएर पनि केदारमान व्यथितले आफ्नो उपनाम व्यथित राखेको हो कि ! जुन अनुसन्धानको विषय हुनसक्छ भनेर पनि बताए ।

यसैगरी ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ कृतिबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै जुद्धबहादुर श्रेष्ठको व्यक्तित्व र क्रियाकलापका बारेमा बोल्दै लेखकका आफ्नै काका रहेका जुद्धबहादुर श्रेष्ठले सङ्कलन गरेका ऐतिहासिक दस्तावेज र अभिलेखलाई जोगाएर कृतिका रूपमा समाज समक्ष राख्न सफल भएको र आफ्नो बुबा पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ को निधन भएको केही महिनामा जन्मिएका नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो पिताका गद्य रचनाहरू सङ्कलन गरी प्रकाशन गरेर कृति मार्फत् बुबालाई चिनाउने काम गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष राधेश्याम लेकालीले ५४ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयन र प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको साहित्यिक पत्रकार संघको चर्चा गर्दै लोकार्पित दुबै कृतिका बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा दिनेश डिसी, श्रीओम श्रेष्ठ रोदन तथा कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्व माथि संक्षेपमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्दै मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबा नचिनेको बा का बारेमा लेखेको बताउँदै आमाको संस्कारले नरेन्द्रबहादुर श्रेष्ठ बन्न सकेकोमा गर्व लागेको बताए । श्रेष्ठले जीवनका आरोह अवरोहका बारेमा चर्चा गर्दै २०६२ सालमा आमालाई पनि गुमाउनु परेको प्रसङ्ग उठाउँदै आमाको ऋण तिर्न आमाको प्रतिमा आफैँले बनाएको बताए ।