कविता केवल सौन्दर्यको खोज होइन, चेतनाको आन्दोलन पनि हो । यही आन्दोलनको एक सशक्त, अविचल र निरन्तर स्वर हुन्— मीना श्रेष्ठ । नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको माटोमा जन्मिएर शब्दलाई हतियार र संवेदनालाई ऊर्जा बनाउँदै सामाजिक न्याय, नारी चेतना र राजनीतिक प्रतिबद्धताको यात्रामा अगाडि बढेकी मीना श्रेष्ठ आज समकालीन नेपाली साहित्य र सार्वजनिक जीवनको एक पृथक् पहिचान बनेकी छिन् ।
वि.सं. २०३४ चैत्र २६ गते खोटाङको बितलबमा जन्मिएकी मीना श्रेष्ठको बाल्यकाल भने इटहरीको परिवेशमा बित्यो । बाल्यकाल, किशोर, युवा यी चरण उनले इटहरीकै परिवेशमा बिताइन् । उनी चार महिनाकी हुँदा कोक्रोमा बसेर माता गोमादेवी श्रेष्ठ र पिता मोहनबहादुर श्रेष्ठका साथ खोटाङबाट इटहरी झरेकी थिइन् । मातापिताबाट प्राप्त अनुशासन, श्रमप्रतिको सम्मान र मानवीय संवेदनाले उनको जीवनदृष्टि निर्माण ग¥यो । उनले विद्यालय तथा क्याम्पसको शिक्षा इटहरीमै हासिल गरिन् । स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेकी उनले शिक्षालाई केवल डिग्रीमा मात्र सीमित नराखी त्यसलाई सामाजिक चेतनासँग जोडिन् ।
उनको साहित्यिक यात्राको औपचारिक सुरुआत वि.सं. २०५३ मा प्रतिनिधि दैनिकमा प्रकाशित कविता ‘खै कहाँ खोजूँ म नारी मुक्ति’ बाट हुन्छ । यही कविता उनको सिर्जनात्मक घोषणापत्र बन्यो । नारी स्वतन्त्रता, विभेद, श्रम, पीडा र प्रतिरोध उनका कविताका केन्द्रीय विषय बनेका छन् । कविता उनका लागि भावनाको अभिव्यक्ति मात्र होइन, सामाजिक हस्तक्षेपको माध्यम बन्यो ।


वि.सं. २०७० मा प्रकाशित पहिलो कवितासंग्रह ‘बिस्कुन यो मनको’ ले उनलाई स्थापित कविका रूपमा चिनायो । यस कृतिमा व्यक्तिगत अनुभूति, सामूहिक पीडा र परिवर्तनको आकांक्षा एकैसाथ गुञ्जिएका छन् । २०७९ मा परिमार्जित संस्करण पुनः प्रकाशित हुनु पाठकसँगको गहिरो सम्बन्धको प्रमाण हो ।
दोस्रो कविताकृतिका रूपमा २०७९ प्रकाशित “फर्गेट एस्टर्डे” अर्को वजनदार कृति हो । जसले जीवनका विगतलाई विर्सेर अगाडिको यात्रालाई आत्मासात गर भन्ने सन्देश दिन्छ । उनी तेस्रो कृति “निर्बन्ध” नामक निबन्धकृतिको तयारीमा रहेकी छन् ।
‘आईमाई बस्ने घर’ जस्ता कविताले घरेलु जीवनभित्र लुकेको स्त्री श्रम, मौन हिंसा र अदृश्य संघर्षलाई सशक्त रूपमा उजागर गरे, जसका लागि उनी पुरस्कृत पनि भइन् ।
तर मीना श्रेष्ठको जीवन केवल कविता, साहित्य र शब्दको यात्रा मात्र होइन—यो श्रम, पसिना र साहसले बनाएको इतिहास पनि हो । हालै प्राइम टेलिभिजनको एक कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा उनले सामाजिक सञ्जालमा देखेको एउटा सन्देशले उनको विगतका पन्ना फेरि पल्टाइदियो । लेखिएको थियो— “मीना श्रेष्ठ संघर्षशील, इमानदार महिला हुन् । अत्तरियामा लामो समय घडी बनाउनुभयो । घडी मर्मत गर्ने नेपालको पहिलो महिला ।” कार्यक्रम सञ्चालक कृष्ण मल्लको पोस्ट थियो त्यो । सन्देश पढ्दा उनी अचम्मित भइन् । उनले आफैलाई सम्झाइन् पनि । उनी नेपालकी घडी मर्मत गर्ने दोस्रो महिला थिइन् ।
जब महिलालाई घरभित्र सीमित हुनुपर्छ भन्ने सोच बलियो थियो, तब मीना श्रेष्ठ औजार बोकेर घडी मर्मतको काममा उत्रिइन् । त्यो केवल पेशा थिएन, त्यो आत्मनिर्भरताका लागि विद्रोह थियो । पुरुषप्रधान पेशामा महिला भएर उभिनु सजिलो थिएन । हेला, अविश्वास र प्रश्नहरू उनका दैनिक साथी थिए । तर उनले बनाएका घडीहरू छ महिनाको ग्यारेन्टीसहित हुन्थे । त्यो ग्यारेन्टी केवल समय चल्ने आश्वासन थिएन, त्यो उनको इमानदार श्रम, सीप र आत्मविश्वासको प्रतिवद्धता थियो । उनले समय मात्र मर्मत गरेकी थिइनन्, आफ्नो भविष्य पनि निर्माण गरिरहेकी थिइन् ।
समय सधैँ एकनासको कहाँ हुन्छ र ! जीवनले उनलाई अर्को मोडमा पु¥यायो । वि.सं. २०४६ पछि उनले आफ्नो गृहस्थी जीवन र व्यवसाय छोडेर राजनीतितर्फ पाइला बढाइन् । राजनीति उनका लागि विलासिता थिएन—बाध्यता थियो । समाजमा महिलाको पीडा, श्रमिकको आवाज र सीमान्तकृतको उपेक्षा देखेपछि उनको संघर्ष पसलभित्र सीमित रहन सकेन । सुरक्षित जीवन, स्थापित पेशा र आत्मनिर्भर संसार छोडेर राजनीतिमा होमिनु सानो निर्णय थिएन । उनी होमिइन् ।
राजनीतिक यात्रामा उनले अनेरास्ववियु, प्ररायु संघ नेपाल, युथ फोर्स नेपाल हुँदै नेकपा एमालेको विभिन्न तहमा जिम्मेवारी निर्वाह गरिन् । सुनसरी जिल्ला इन्चार्ज, युवा सह–इन्चार्ज, धनकुटा युवा इन्चार्ज, केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्यजस्ता भूमिकामा रहँदै उनले संगठन निर्माण र नेतृत्व विकासमा योगदान पु¥याइन् । त्यसक्रममा बेला–बेला भएका कारबाही, अपमान र अवरोधले उनको प्रतिबद्धता कमजोर बनाएन, बरु अझ दृढ बनायो ।


आज मीना श्रेष्ठ नेकपा एमालेका तर्फबाट कोशी प्रदेश सभाकी सभासद्का रूपमा जनताको प्रतिनिधित्व गरिरहेकी छन् । उनी संसद्मा आम जनसरोकारका विषय उठाउने सांसदको पहिलो नम्बरमै पर्छिन् । संसद्मा बोल्दा उनी बोल्दा सांसदका रूपमा बोलिरहेकी हुन्छन् तर उनीभित्र घडी मर्मत गर्ने महिला बोल्छिन्, श्रमिक महिला बोल्छिन्, सपना बोकेर हिँड्ने हरेक नेपाली महिला बोलिरहेका हुन्छन् ।
उनका राजनीतिक गुरु सञ्जय थापा (प्रदीप नेपाल) हुन् भने राजनीतिक आदर्श केपी शर्मा ओली हुन् । उनी ओलीलाई उच्च आदरसाथ ‘बुवा’ भनेर सम्बोधन गर्छिन् । यही वैचारिक स्पष्टता र जीवनअनुभवले उनलाई जमिनसँग जोडिएको जनप्रतिनिधि बनाएको छ । उनी निर्माता रहेर केपी शर्मा ओलीमा आधारित ‘बा’ शीर्षक वृत्तचित्र नै निर्माण भइरहेको छ । उनी भन्छिन्, ‘बा’ वृत्तचित्र ओली बुवाप्रतिको सम्मान मात्रै होइन नेपाली नातासम्बन्ध झल्काउने संस्कृतिको एउटा दस्तावेज पनि हो ।” ‘बा’ वृत्तचित्रको परिकल्पना, लेखन तथा निर्देशन शशी लुमुम्बू र विश्वमणि घिमिरेको रहेको छ ।
नागरिक समाज नारी सम्मान, स्वर्ण नारी सम्मान, राष्ट्रिय नारी सम्मान, प्रेस चौतारीे सम्मानलगायतका सम्मानहरूले उनको योगदानलाई औपचारिक मान्यता दिएका छन् ।
राजनीतिमार्फत समाजसेवाका साथै मीना श्रेष्ठ अझै लेखिरहेकी छन्— जीवनका घाउबाट, समाजका आवाजबाट र भविष्यका सपनाबाट । उनी कविता लेख्ने मात्र होइन, कविता जिउने सर्जक हुन् । मीना श्रेष्ठको कथा एउटा व्यक्तिको मात्र कथा होइन— यो नेपाली महिलाको सम्भावनाको कथा हो । अविचल संघर्षको कथा हो ।