July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

साकेला गाउँपालिकाको नयाँ स्कीम सार्वजनिक, जन्मँदै बैंक खातामा रकम

470

खोटाङको साकेला गाउँपालिकाले जन्मिने नाबालकहरुलाई लक्षित गरी नयाँ स्कीम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रबि प्रकाश राई नेतृत्वको जनप्रतिनिधि टोलीले आगामी आर्थिक वर्ष ०८२/०८३ देखि कार्यान्वयन हुने गरी बालबालिका लक्षित नयाँ योजना ल्याएको हो ।

मंगलबार गाउँपालिकामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममार्फत ‘नवजात शिशु बचत योजना’ अन्तर्गत नयाँ स्कीम घोषणा गरिएको हो ।

विद्यमान व्यक्तिगत र राष्ट्रिय ऋणको बोझ र त्यसबाट प्रभावित साना बालबालिकाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ देशकै नयाँ र पहिलो प्रोजेक्ट नीति अघि सारिएको गाउँपालिका
अध्यक्ष रवि प्रकाश राईले जानकार दिए । नयाँ नीति अनुरुप आगामी साउनदेखि गाउँपालिकाभित्र जन्मिने हरेक शिशुको नाममा नेपाल एसबीआई बैंकको सहकार्यमा बैंक खाता खोलि रकम जम्मा गर्न सुरु गरिने अध्यक्ष राईले बताए । अब जन्मने बच्चाहरुको नाममा पहिलो वर्ष १० देखि १५ हजार रुपैंयासम्म खातामा जम्मा गरिने र वार्षिक केही रकम वृद्धि गर्दै लगिने अध्यक्ष राईको भनाई छ ।

Advertisement

खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयभित्रै जन्मदर्ता गराएको हुनुपर्ने लगायतका न्यूनतम मापदण्ड तयार गरिनेछ ।

यसरी खोलिएको खातामा १८ वर्षको उमेरसम्म पालिकाले आन्तरिक आम्दानीको केही हिस्सा रकम वार्षिक रुपमा थप गरी वृद्धि गर्दै लैजाने गरी मापदण्ड तयार गरी लागू गरिने अध्यक्ष राई बताउछन् । तर यसरी जम्मा भएको रकमको हकदार हुन भने कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाँईसरी अन्यत्र जान नपाईने लगायतका मापदण्ड तयार हुनेछ । यस कार्यमार्फत बालबालिकाहरूलाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार स्थापित गर्ने प्रमुख नीति लिइएको छ ।

साकेला गाउँपालिकाले व्यक्तिगत र पारिवारिक ऋणका असरहरू कम गरी प्रत्येक शिशुको पालनपोषण, शिक्षा र भविष्यका सम्भावनाहरू सुरक्षित गर्ने विश्वास लिएको छ । यस नीति र कार्यक्रमबाट बढ्दो बसाइँसराइलाई न्यूनीकरण गरी समृद्धि र समावेशीताको वातावरण सृजना हुने अपेक्षा गरिएको अध्यक्ष राई बताउछन् ।

साकेलाको बजेट ३९ करोड ३० लाख
खोटाङको साकेला गाउँपालिकाले कूल ३९ करोड ३० लाख ३९ हजार ६५९ को बजेट सार्वजनिक गरेको छ । मंगलबार आयोजित १५औं गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी आर्थिक वर्ष ०८२/०८३ मा कार्यान्वयन हुनेगरी चालु तर्फ २७ करोड ४७ लाख एक हजार ६९ रुपैंया र पुँजीगत तर्फ ११ करोड ८३ लाख ३८ हजार ५९० रुपैंया बराबरको बजेट सभामा पेश गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट बहुमतबाट पारित गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि साकेला गाउँपालिकालाई वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ करोड ८९ लाख, राजश्व वाँडफाँडबाट ६ करोड ३२ लाख ५६ हजार ६५९, सशर्त अनुदान तर्फ १४ करोड चार लाख, सशर्त अनुदान पुँजीगत तर्फ एक करोड ३८ लाख, संघीय सरकार समपूरक अनुदान तर्फ दुई करोड २२ लाख,
विशेष अनुदान चालु तर्फ एक करोड ५४ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख नौ हजार, सवारी कर वाँडफाँडबाट ४९ लाख ९० हजार, प्रदेश सशर्त अनुदान तर्फ ७५ लाख ६५ हजार, प्रदेश सरकार पुँजीगत तर्फ एक करोड ७२ लाख ५९ हजार, समपूरक अनुदान पुँजीगत तर्फ एक करोड ६० लाख, जिल्ला समन्वय समितिबाट साझेदारी बापत १८ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँड बापत एक लाख ५० हजार, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर बापत दश हजार तथा गाउँपालिकाको प्रक्षेपित राजश्व रकम ३० लाख, आ.व. २०८१/०८२ बाट सरेर जाने बैंक मौज्दात एक करोड २५ लाख प्रक्षेपित आय अनुमान गरिएको छ ।