काठमाडौं । कवि नीरा श्रेष्ठको नवीनतम् कविताकृति ‘काठको बाकस आइसबक्स अनि सपनाहरू’ लोकार्पण भएको छ । लालित्य सिर्जना समाज, ललितपुरको आयोजनामा शनिबार हार्दिक होटल, काठमाडौंमा कृति लोकार्पण गरिएको हो ।
कृतिलाई कार्यकमका प्रमुख अतिथि वरिष्ठ समालोचक एवं राजनीतिक विश्लेषक प्रा.डा. गोविन्द मानसिंह कार्की, विशिष्ट अतिथिहरु पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइराला, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्ल, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ट नियात्राकार पवन आलोकले लोकार्पण गरेका हुन् ।
कृतिबारे बोल्दै प्रमुख अतिथि कार्कीले सर्जकले यस कृतिमार्फत आफ्नो सफल काव्य यात्रा सुरु गरेको बताए । । कवि श्रेष्ठले यस कविताकृतिमार्फत नारीको पीडा, व्यथा, वेदना, देश प्रेम, व्यतिथि विरुद्धमा आवाज, संस्कृतिप्रतिको मोह, आफ्नो सेवाप्रतिको सम्मान भाव, प्रकृतिबाट जीवन बोध, राजनीतिक व्यंग्य, आफ्नो साहित्य सेवा, राष्ट्रिय व्यक्तित्वका बारेमा प्रेम, आमाप्रतिको सम्मान भाव र आफ्नै बारेमा समेत धारणा व्यक्त गरेको बताए ।
यसैगरी कवि नीरा श्रेष्ठले आफ्नो काव्यिक यात्राबारे चर्चा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
लालित्य सिर्जना समाजका अध्यक्ष बुद्दिमान महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कवि एवं पत्रकार राजन न्यौपानेले गरेको थिए ।
कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रकी नर्सिङ प्रमुख विद्या जोशी कोइरालालगायत विभिन्न संस्थाका प्रमुखहरू, साहित्यकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।




