November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

किशोर श्रेष्ठको ‘म अनि मेरा भोगाइहरू’ को परिचर्चा सम्पन्न

965

काठमाडौं । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले आज संयुक्त रुपमा सर्जक किशोर श्रेष्ठ ‘आवाज’ को ‘म अनि मेरा भोगाइहरू’ कविता र नियात्राकृतिको ‘परिचर्चा’ कार्यक्रमको आयोजना ग¥यो ।

काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका हुन् ।

सर्जक श्रेष्ठको ‘म अनि मेरा भोगाइहरू’ कविता र नियात्राकृतिबारे समालोचक डा. शान्तिमाया गिरी र कवि दिलीप श्रेष्ठले समीक्षात्मक मन्तव्य राखेका थिए ।

Advertisement

गुन्जनकी अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरीले किशोरको आख्यानमा भौगोलिक परिवेश, सांस्कृतिकता, सामाजिकता र चालचलन लगायत अनगिन्ती विषयबस्तुलाई विवरणात्मक शैलीमा लेखेको बताए ।

यसैगरी अर्का समीक्षक कवि दिलीप श्रेष्ठले सर्जक किशोरको योगदानको चर्चा गर्दै कृतिमा समावेश कवितामा सांस्कृतिक, सामाजिक र राजनीतिक चेतको उल्लेख गरेका थिए ।

कार्यक्रममा अध्यक्ष लेकालीले सर्जक श्रेष्ठको समग्र परिचय र योगदानको उल्लेख गर्दै चैनपुरको विशेष चर्चा गरे भने प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले कृतिको चर्चा गर्दै बधाई ज्ञापन गरे ।

कृतिकार किशोर श्रेष्ठले आफ्नो सिर्जना यात्राबारे उल्लेख गर्दै कार्यक्रम आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद गरे ।

कार्यक्रममा कविहरू सविता श्रेष्ठ ‘बेहोसी’ र मन्जिला अनिलले ‘म अनि मेरा भोगाइहरू’ बाट कविता वाचन गरेको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि जलेश्वरी र साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंहले सर्जक किशोर श्रेष्ठलाई दोसल्ला, माला र खदा लगाएर सम्मान गरेका थिए ।

काठमाडौं संखुवासभा साहित्य समाजका सदस्य डा. बंशी शर्माले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सहजीकरण साहित्यिक पत्रकार संघकी सचिव नीता श्रेष्ठले गरेका थिए ।