काठमाडौं । साहित्यकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ले आख्यान पुरस्कार प्राप्त भएको छ । साहित्यपोस्टले हरेक वर्ष नवप्रवेसी कवि लेखकलाई प्रदान गर्दै आएको तीन वर्ष २०८१ का लागि ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बान्तावाको ‘प्याउली’लाई प्रदान गरिएको हो ।
त्यस्तै ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ लाई, र ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई प्रदान गरिएको छ ।
प्रत्येक विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशि पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्याउलीका लेखक बान्तावाले भने आाफुले प्राप्त गरेको ५० हजार रुपैँया पुरस्कारको रकम साहित्यिक युवाहरुको समूह ‘सम्भव’लाई सहयोगको रुपमा प्रदान गर्ने बताईन् ।
आइतबार काठमान्डौंस्थित एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक भव्य कार्यक्रमका बीच नवरत्न सम्मान, पुरस्कार घोषणा तथा पुरस्कार अर्पण कार्यक्रम एक साथ गरिएको हो ।
कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा क्रमशः प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गरेका थिए । कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेको हो ।




